काठमाडौं । धादिङको बेनीघाट रोराङ गाउँपालिका-५ भैँसीगौडामा आज बिहान दुर्घटना भएको बसले पोखरादेखि ३४ जना यात्रु लिएर काठमाडौंका लागि छुटेको पृथ्वी राजमार्ग बस सञ्चालक समितिले जनाएको छ ।
पोखराको पर्यटक बसपार्कबाट आइतबार साँझ ७ बजे छुटेको ग.१ ख १४२१ नं. उक्त बसमा ३४ यात्रुसहित चालक र २ जना बसका कर्मचारी सवार रहेको समितिका अध्यक्ष ऐन बहादुर साईले बताए ।
‘पोखरादेखि बस छुट्दा चालक, कर्मचारीसहित बसमा ३७ जना सवार थिए, बीच बाटोमा अन्य यात्रु पनि चढेको अनुमान गरिएको छ, विस्तृत विवरण आइसकेको छैन,’ उनले भने ।
बस दुर्घटनामा परी १७ जनाको मृत्यु भएको र २४ जना घाइते भएको जनाइएको छ । दुर्घटनाको थप विवरण आउन बाँकी छ ।