काठमाडौं । धनगढी उप-महानगरपालिकाले सडक क्षेत्राधिकार १० मिटरबाट घटाएर पुनः ८ मिटर कायम गर्ने निर्णय गरेको छ । नगर सभाको आइतबार बसेको बैठकले जग्गा ‘प्लटिङ’ सम्बन्धी यसअघिको कार्यविधि संशोधन गर्दै सडक क्षेत्राधिकार आठ मिटर कायम गर्ने प्रस्ताव पारित गरेको हो ।
नगरसभा सदस्य एवं वडा नं १३ का अध्यक्ष विजय जोशीले सडक क्षेत्राधिकारमा एकरूपता कायम गर्न कार्यविधि संशोधन गरेर ८ मिटर कायम गर्ने प्रस्ताव पारित भएको जानकारी दिए ।
उनले भने, ‘यसअघिको कार्यविधिमा तोकिएको सडकको क्षेत्राधिकारले नागरिकहरू गुनासो गर्दै अदालत धाउन थालेकाले भविष्यलाई लक्ष्य गरेर कार्यविधि संशोधन गरेर यो प्रस्ताव पारित गरिएको छ ।’
जग्गाको अंशबन्डा गर्दा र व्यावसायिक रुपमा प्लटिङ गर्दाको सडक क्षेत्राधिकारमा एकरूपता ल्याउन कार्यविधि संशोधन गर्नुपरेको हो । २ वर्ष अघिको बैठकले १० मिटर चौडा सडक क्षेत्राधिकार कायम गर्ने गरी जग्गा प्लटिङसम्बन्धी कार्यविधि पारित गरेको थियो । सडकको क्षेत्राधिकार अनावश्यक रुपमा बढी भएको भन्दै कतिपय जनप्रतिनिधिले असहमति जनाएका थिए । असहमतिसँगै निर्णय कार्यान्वयनको चरणमा लैजान विवाद उत्पन्न भएको थियो ।
सडक क्षेत्राधिकार १० मिटर कायम भएपछि धेरैजसो जग्गाधनी र घरधनी प्रभावित भएका थिए । ८ मिटर कायम भएसँगै तीमध्ये धेरै समस्या समाधान हुने अपेक्षा गरिएको छ । प्लटिङ स्वीकृति, नक्सा पास र नयाँ घर निर्माण प्रक्रिया सहज हुने देखिएको छ ।
सुदूरपश्चिम प्रदेशको राजधानी धनगढी उप-महानगरपालिका क्षेत्र तीव्र रूपमा शहरीकरण भइरहेको छ । सीमावर्ती व्यापार, बसाइँसराइ र सेवा केन्द्रका रूपमा विकास हुँदै जाँदा सडक पूर्वाधारको दीर्घकालीन योजना आवश्यक हुन्छ ।