काठमाडौं । नेपालको अटोमोबाइल क्षेत्रमा एकपछि अर्को गर्दै नयाँ क्रान्तिको लहर चलेको छ । पछिल्लो समय नेपालमै बाइक, कार र बस एसेम्बल हुन थालेका छन् । जसमा सिप्रदी ट्रेडिङ्ग र यात्री मोटरसाइकलको सहकार्यमा बनेको इलेक्ट्रिक स्कुटर ‘पी-टु’ को सडक परीक्षण गरिएको छ ।
नेपालमै डिजाइन र विकास गरिएको यो पहिलो इलेक्ट्रिक स्कुटरले हालसम्म देशका विभिन्न सडकहरूमा ७ हजार किलोमिटरभन्दा बढीको यात्रा सफलतापूर्वक पूरा गरिसकेको सिप्रदी ट्रेडिङ्गले जनाएको छ ।
‘पी-टु’ स्कुटरलाई सामान्य सहरी सडकमा मात्र नभई नेपालको भौगोलिक विविधताअनुसारका कठिनतम परिस्थितिमा परीक्षण गरिएको कम्पनीको भनाइ छ ।
कम्पनीले यसलाई काठमाडौंका सडकदेखि नुवाकोट र जिरीका विकट पहाडी उकालो–ओरालो हुँदै हेटौंडा र भरतपुरका समथर तराईका राजमार्गसम्म दौडाएर परीक्षण गरिरहेको छ ।
कम्पनीका अनुसार परीक्षणका क्रममा हालसम्म काठमाडौं, भक्तपुर, नुवाकोट, कुरी, जिरी, मूलकोट, कटारी, हेटौंडा, भरतपुर, राम्दीघाट र वालिङजस्ता १० भन्दा बढी स्थानका सडकमा यसको क्षमता जाँचिएको छ ।
दैनिक ४०० किलोमिटरभन्दा बढी गुडाएर यसको ब्याट्री पर्फमेन्स, मोटरको शक्ति र समग्र टिकाउपनको गहन परीक्षण भइरहेको यात्रीले जनाएको छ ।
उसो त ‘यात्री पी-टु’ स्कुटर एक उत्पादन मात्र होइन, यो नेपाली इन्जिनियरिङ, डिजाइन र नवप्रवर्तनको उदाहरण पनि हो । यसअघि ‘पी–जिरो’ र ‘पी-वान’ जस्ता प्रिमियम इलेक्ट्रिक मोटरसाइकल सार्वजनिक गरेर चर्चा कमाएको यात्रीले ‘पी-टु’ मार्फत आम नेपाली उपभोक्तासम्म पुग्ने लक्ष्य राखेको छ ।
सिप्रदी कम्पनी र यात्री जस्तो नवप्रवर्तक स्टार्टअपको सहकार्यले यस परियोजनालाई थप विश्वसनीय र शक्तिशाली बनाएको बताइएको छ । यो स्कुटर कहिले सार्वजनिक हुन्छ भन्ने विषयमा कम्पनीले आधिकारिक जानकारी नदिए पनि यसको व्यापक परीक्षणले छिट्टै बजारमा आउने संकेत गरेको छ ।
नेपाली बजारमा विदेशी ब्रान्डको वर्चस्व रहेको बेला ‘मेड इन नेपाल’ ट्यागसहित आउन लागेको ‘यात्री पी–टु’ लाई नेपाली उपभोक्ताका लागि नयाँ विकल्पका रुपमा हेरिएको छ ।