उद्योग वाणिज्य महासंघमा ढकाल समूहले बनायो प्यानल, सोमबार उमेदवारी घोषणा

काठमाडौं । निजी क्षेत्रका व्यवसायीहरूको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को ६०औं वार्षिक साधारण सभाबाट चयन हुने नयाँ कार्यसमितिका लागि उम्मेदवारी घोषणा सुरु भएकाे छ ।

महासंघको आगामी चैत २८ र २९ गते हुने वार्षिक साधारण सभासँगै नयाँ कार्यसमिति चयन हुनेछ । विधानअनुसार हालका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ स्वतः अध्यक्ष बन्नेछन् भने अन्य पदहरूमा चुनावी प्रतिस्पर्धा हुनेछ ।

साेमबार एसोसिएट उपाध्यक्ष पदमा ज्योत्सना श्रेष्ठले पुनः उम्मेदवारी दिने तयारी गरेकी छन् । त्यसैगरी जिल्ला-नगर उपाध्यक्ष पदमा उमेश डालमिया र कल्पना गैरे उम्मेदवार बन्ने भएका छन् । महासंघको संशोधित विधानअनुसार यसपटकदेखि दुई जना जिल्ला-नगर उपाध्यक्ष रहने व्यवस्था गरिएको छ ।

यस्तै, वस्तुगत उपाध्यक्षमा नरेशलाल श्रेष्ठ र महिला उपाध्यक्ष पदमा कमला श्रेष्ठलाई उम्मेदवार बनाउने तयारी गरिएको छ । प्यानलको औपचारिक घोषणा सोमबार गरिने जनाइएको छ । 

स्रोतका अनुसार यस समूहको वरिष्ठ उपाध्यक्ष हेमराज ढकाल हुने गरी उम्मेदवारी घोषणा गरिनेछ । ढकाल हाल वस्तुगततर्फका उपाध्यक्ष हुन् । कार्यसमिति भित्र निर्वाचन भएर वरिष्ठ उपाध्यक्ष चयन गर्ने व्यवस्था रहेको छ ।

Share News