काठमाडौं । नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको ७ महिनामा लक्ष्यको ४५ प्रतिशत राजस्व सङ्कलन गरेको छ । चालु आव २०८२/८३ का लागि वार्षिक लक्ष्य २४ अर्ब ५४ करोड ५७ लाख ८२ हजार रुपैयाँ निर्धारण भएकोमा माघ मसान्तसम्ममा मात्र ११ अर्ब ४ करोड ६५ लाख ८५ हजार रुपैयाँ अर्थात् लक्ष्यको ४५.०१ प्रतिशत असुली भएको भन्सार कार्यालयका प्रमुख जनार्दन पौडेलले बताए ।
उनका अनुसार लक्ष्य पूरा गर्न बाँकी रहेका ५ महिनामा ५५ प्रतिशत राजस्व सङ्कलन गर्नुपर्ने चुनौती छ । भन्सार कार्यालयको मासिक लक्ष्य अुनसार हालसम्म कुनै पनि महिनामा राजस्व सङ्लन हुनसकेको छैन ।
चालु आवको साउन, भदौ, असोज, कात्तिक, मङ्सिर, पुस र माघमा क्रमशः लक्ष्यको ७४, ६९, ८७, ७२, ८३, ८३ र ८८ प्रतिशत मात्र राजस्व असुली भएको छ । आव २०८१/८२ मा नेपालगन्ज भन्सारले लक्ष्यको ७४.६४ प्रतिशत राजस्व सङ्कलन गरेको थियो भने आव २०८०/८१ मा ६३.३५ प्रतिशत राजस्व सङ्कलन गरेको थियो ।
नेपाल-भारत सीमाको जमुनाह नाकामा एकीकृत जाँच चौकी सञ्चालनमा आएपछि आयात-निर्यात वृद्धि भई भन्सार राजस्व वृद्धि हुने अपेक्षा गरिए पनि केही वर्षयता लक्ष्य पूरा हुन नसकेको भन्सार प्रमुख पौडेको भनाइ छ । उनले चालु आवको ७ महिनामा गत आवको ७ महिनाको तुलनामा ९ करोड २४ लाख रुपैयाँभन्दा बढी राजस्व सङ्लन भएको उल्लेख गर्दै लक्ष्य पूरा हुन नसके पनि राजस्व सङ्कलन वृद्धि हुने क्रममा रहेको बताए । गत आवको सात महिनामा नेपालगन्ज नाकाबाट १० अर्ब ९५ करोड ४१ लाख ८४ हजार रुपैयाँ राजस्व सङ्कलन भएको थियो ।
नेपालगन्ज भन्सारमा चालु आवको साउनमा १ अर्ब ८६ करोड ६५ लाख ४६ हजार रुपैयाँ लक्ष्य रहेकामा ७४.१४ प्रतिशत १ अर्ब ३८ करोड ३७ लाख ८४ हजार रुपैयाँ, भदौमा १ अर्ब ९३ लाख ६४ हजार रुपैयाँ लक्ष्य रहेकोमा ६९.७७ प्रतिशत १ अर्ब ३५ करोड १० लाख ९ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ ।
त्यसैगरी, असोजमा १ अर्ब ९८ करोड ३१ लाख ३० रुपैयाँ लक्ष्य रहेकामा १ अर्ब ७४ करोड १६ लाख ५ हजार रुपैयाँ, कात्तिकमा २ अर्ब १२ करोड ६१ लाख ३० हजार रुपैयाँ लक्ष्य रहेकामा १ अर्ब ५३ करोड ७० लाख ८२ हजार रुपैयाँ, मङ्सिरमा १ अर्ब ९६ करोड ३६ लाख १४ हजार रुपैयाँ लक्ष्य रहेकामा १ अर्ब ६३ करोड ८५ लाख १० हजार रुपैयाँ, पुसमा २ अर्ब ३ करोड ४५ लाख २१ हजार रुपैयाँ लक्ष्य रहेकामा १ अर्ब ६९ करोड ४४ लाख १३ हजार रुपैयाँ र माघमा १ अर्ब करोड ६९ लाख ४० हजार रुपैयाँ लक्ष्य रहेकामा १ अर्ब ७० करोड १ लाख ८२ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ ।
नेपालगन्ज भन्सार कार्यालयको तथ्याङ्कअनुसार अघिल्लो आव २०८१/८२ को साउनमा लक्ष्यको ७३.६७ प्रतिशत, भदौमा लक्ष्यको ६६.६२ प्रतिशत, असोजमा ६६.९१ प्रतिशत, कात्तिकमा ७६.४४ प्रतिशत, मङ्सिरमा ७६.२७, पुसमा ७१.१५ प्रतिशत र माघमा ७५.१३ प्रतिशत राजस्व सङ्कलन भएको थियो ।