कपिलवस्तुमा १ लाख बढी नक्कली नोटसहित चार जना पक्राउ

काठमाडौं । कपिलवस्तुमा नक्कली १ लाख १ हजार रुपैयाँसहित चारजना पक्राउ परेका छन् । ५० वर्षीय सट्टु यादव, १९ वर्षीय अजय यादव, ५२ वर्षीय सञ्जय गुप्ता भन्ने पटेश्वरीप्रसाद गुप्त र ५० वर्षीया साजिदा खातुनलाई पक्राउ गरिएको कपिलवस्तु प्रहरीले जनाएको छ । 

सट्ट यादवलाई नियन्त्रणमा लिएर खानतलासी गर्दा नेपाली रुपैयाँ १ हजार दरका ९९ थान र उनले विभिन्न स्थानमा कारोबार गरेको २ थान गरी जम्मा कुल एक लाख एक हजार रुपैयाँ १०१ थान नक्कली जस्तो देखिने नोटहरू फेला पारिएको जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुका रिपेन्द्रकुमार सिंहले जानकारी दिए ।

उनका अनुसार उनीहरूले नक्कली नोट पेट्रोल पम्प र तरकारी पसलमा प्रयोगमा ल्याएका थिए । 

बुद्धभूमि नगरपालिका वडा नम्बर १० स्थित रहेको पेट्रोल पम्प, तरकारी पसलमा र कपिलवस्तु ३ मा  रहेको पेट्रोल पम्पमा समेत उक्त नक्कली पैसा प्रयोगमा ल्याएका थिए ।

मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद २२ अन्तर्गत मुद्रा सम्बन्धी कसूरमा ४ गते कपिलवस्तु जिल्ला अदालतबाट आठ दिनको म्याद थप गरेर उनीहरूमाथि अनुसन्धान भइरहेको छ ।

Share News