शिक्षामा २० प्रतिशत लगानी गर्ने कांग्रेसको प्रतीज्ञा

काठमाडौं । नेपाली कांग्रेसले कुल बजेटको २० प्रतिशत रकम शिक्षामा लगानी गर्ने प्रतीज्ञा गरेको छ । फागुन २१ गते हुने निर्वाचनलाई केन्द्रित गर्दै निकालेको प्रतीज्ञापत्रमा शिक्षामा २० प्रतिशत लगानी गर्ने जनाएको हो । 

त्यस्तै, विद्यार्थीले समयमा पाठ्यपुस्तक नपाउने अवस्थाको अन्त्य गर्दै नयाँ वर्षमा नयाँ पुस्तक उपलब्ध गराउने प्रतिज्ञा गरेको छ । 

कांग्रेसले विद्यालय शिक्षा ऐन एक वर्षभित्र पारित गर्ने जनाएको छ । अस्थायी, स्थायी, राहत, ईसीडी शिक्षकका समस्या समाधान गर्दै निजामती कर्मचारी सरह सुविधा तालिम उपलब्ध गराउने प्रतीज्ञापत्रमा उल्लेख छ । 

सबै उमेरका  नागरिकलाई प्रविधिमैत्री र जीवन उपयोगी आजीवन सिकाइ पद्धति निर्माण गर्ने लक्ष्य छ भने सामान्य शिक्षा र प्राविधिक शिक्षालाई एकीकृत गर्दे युवालाई रोजगारी र  उद्यमशीलताका लागि आवश्यक सीप प्रदान गर्ने पनि उल्लेख गरिएको छ । 

कांग्रेसले कुनै पनि नेपालीले आर्थिक अभावका कारण उच्च शिक्षाबाट वञ्चित हुन नपरोस् भन्ने ध्येयले कांग्रेसले सहुलियतपूर्ण दरमा ऋण उपलब्ध गराउने प्रतीज्ञापत्रमा उल्लेख छ । यसका लागि शैक्षिक अवधिभरिको व्याज सरकारले बेहोर्ने व्यवस्था गर्ने उल्लेख छ । 

नेपालको उच्च शिक्षालाई अनुसन्धान, नवप्रवर्तन, सार्वजनिक नीति निर्माण, सामाजिक रूपान्तरण तथा ज्ञान आधारित अर्थतन्त्रको प्रमुख आधारका रुपमा विकास गर्ने कांग्रेसले जनाएको छ ।

कांग्रेसले विद्यमान पाठ्यक्रममा भएका कमीकमजोरीलाई हटाइ नयाँ पाठ्यक्रम परिमार्जन गर्ने बताएको छ । एक्काइसौं शताब्दीको सृजनशील सिकाइ अवधारणा अनुरूपको पाठ्यक्रम शिक्षण सिकाइ मूल्यांकन पद्धतिलाई रूपान्तरित गर्ने कांग्रेसको योजना छ । 

परम्परागत घोकन्ते र परीक्षा प्रणालीबाट सिकाइमा आधारित शिक्षामा रुपान्तरण गर्ने, विद्यालयको सिकाइ सीप, उद्यमशीलता, डिजिटल सीप, वित्तीय साक्षरता अनिवार्यजस्ता विषयहरू समावेश गर्ने भनेको छ ।

Share News