७ महिनामा वैदेशिक व्यापार १३ खर्ब रुपैयाँ नजिक

काठमाडौं । भन्सार विभागले चालु आर्थिक वर्ष (साउन–माघ) सम्मको तथ्यांक सार्वजनिक गरेको छ । विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार सात महिनामा वैदेशिक व्यापार १३ खर्ब रुपैयाँ नजिक पुगेको छ ।

माघसम्ममा १२ खर्ब ९१ अर्ब ६३ करोड २० लाख बराबर वैदेशिक व्यापार भएको छ । सो अवधिमा जसमा आयात ११ खर्ब २३ अर्ब ४८ करोड ६२ लाख वस्तु आयात गरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा १३.६५ प्रतिशतले वृद्धि भएको हो । गत आवको सोही अवधिमा ९ खर्ब ८८ अर्ब ५८ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो ।
 
माघसम्ममा  १ खर्ब ६८ अर्ब १४ करोड बराबरको वस्तु निर्यात भएको छ । जुन गत आवको सोही अवधिको तुलनमा ३२.१९ प्रतिशतले वृद्धि भएको छ । गत आवको सोही अवधिमा १ खर्ब २७ अर्ब २० करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको थियो ।

तथ्यांकअनुसार कुल वैदेशिक व्यापारमा माघसम्म १५.७६ प्रतिशत सुधार देखिएको छ । अघिल्लो वर्ष यसै अवधिमा कुल वैदेशिक व्यापार आकार ११ खर्ब १५ अर्बमात्र थियो ।

व्यापार घाटा ९ खर्ब ५५ अर्ब

कुल वैदेशिक व्यापार आकार १५.७६ प्रतिशतले बढे पनि व्यापार घाटामा केही कमी आएको छ । सात महिनामा व्यापार घाटा ९ खर्ब ५५ अर्ब ३४ करोड बराबर रहेको छ । गत आवको सोही अवधिमा ८ खर्ब ६१ अर्बको व्यापार घाटा थियो । 

नेपालले यो अवधिमा सबैभन्दा धेरै वैदेशिक व्यापार भारतसँग गरेको छ । भारतबाट ६ खर्ब २९ अर्ब रुपैयाँ बराबरको वस्तु आयात गरेको छ भने १ खर्ब ३७ अर्बको वस्तु भारत निर्यात भएको छ । 

त्यस्तै, दोस्रो धेरै व्यापार चीनबाट भएको छ । माघसम्ममा चीनबाट २ खर्ब ३५ अर्ब रुपैयाँको सामान आयात गरेको छ भने ९० करोडको मात्र वस्तु निर्यात भएको छ।

सात महिनाको अवधिमा ७० अर्ब ९९ करोड रुपैयाँ बराबरको कच्चा सोयाबिन तेल आयात भएको छ । सात महिनाको अवधिमा नेपालले १ खर्ब ८० अर्ब ७४ करोड रुपैयाँ बराबर पेट्रोलियम पदार्थ आयात गरेको छ । ९३ अर्ब ७५ करोड बराबरको तेल घ्यू आयात भएको छ । त्यस्तै, आइरन र स्टिल आयात ७७ अर्ब ८५ करोड बराबरको आयात भएको छ । 
 

Share News