काठमाडौंमा मोटरसाइकल चोरेर पाटपुर्जा बिक्री गर्ने तीन जना पक्राउ

काठमाडौं । मोटरसाइकल चोरेर पाटपुर्जा निकाली बिक्री गर्ने तीन जना पक्राउ परेका छन् । 

बुधबार बूढानीलकण्ठ नगरपालिका ७ हात्तीगौंडाका ३१ वर्षीय लक्ष्मण विश्वकर्मा, बुढानीलकण्ठ नगरपालिका ६ हात्तीगौंडा २८ वर्षीय नरबहादुर चित्रे र बुढानीलकण्ठ नगरपालिका ७ हात्तीगौंडा ३८ वर्षीय करण खड्गी पक्राउ परेका हुन् ।

संकटा मन्दिरमा पार्किङ गरी राखेको बा प्र ०२-०१६ प ६१४३ नम्बरको मोटरसाइकल चोरी गरी पाटपुर्जा निकाली बिक्री गरेर अन्य मोटरसाइकलहरूमा जडान गरिएको भन्ने सूचनाको आधारमा प्रहरी प्रभाग बूढानीलकण्ठबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

दुई थान टायर, इन्जिनको भाग, भाइजर, चेसिस नम्बर काटेको टुक्राहरू, साइलेन्सर, ट्यांकी, सकको भाग, मोटरसाइकलको पार्ट पुर्जा निकाल्न प्रयोग हुने विभिन्न समानसहित पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिए ।

त्यसैगरी, पाटपुर्जा निकाली जडान गरिएका ३ वटा मोटरसाइकलहरूसमेत बरामद गरिएको उनले बताए ।

Share News