युनिलिभर नेपालले डेढ करोडका स्क्राप बिक्री गर्दै

काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले डेढ करोड रुपैयाँ बराबरका स्क्राप सामग्री बिक्री गर्ने भएको छ । कम्पनीले हेटौंडास्थित उद्योगबाट निस्कने स्क्राप सामग्री बिक्री गर्ने भएको हो ।

उद्योगबाट निस्कने अनुमानित १ करोड ५० लाख रुपैयाँ बराबरको स्क्राप सामग्री एक वर्षे अवधिका लागि सम्झौतामार्फत बिक्री गर्न लागिएको कम्पनीले जनाइको छ । कम्पनीका अनुसार खाली ड्रम, स्क्राप डोलोमाइट पाउडर, स्क्राप इमुल्सन लिक्विड, एमएफआईएल, पीएफएडी, एफआरआइएसआइएस, एबिएसआईएल, एडीडीओएन पाउडर, स्क्राप परफ्युम तथा अन्य केमिकलजन्य सामग्री बिक्री गरिनेछ । उक्त सामग्री २०८२ चैत १२ गतेदेखि २०८३ चैत १७ गतेसम्मको अवधिका लागि बोलपत्रमार्फत व्यवस्थापन गरिने कम्पनीले जनाएको छ ।

बोलपत्र फाराम प्राप्त गर्न इच्छुक फर्म वा संस्थाले २०८२ फागुन १५ गतेसम्म कम्पनीको इमेल ठेगानामा अनुरोध गर्नुपर्नेछ । फाराम प्राप्त गरेपछि आवश्यक विवरण भरी सिलबन्द प्रस्ताव २०८२ फागुन ३० गते बेलुका ५ बजेसम्म नयाँ बानेश्वरस्थित कर्पोरेट कार्यालयमा कुरियरमार्फत पठाउनुपर्ने व्यवस्था गरिएको छ ।

बोलपत्रसँगै फर्म दर्ता प्रमाणपत्र, भ्याट दर्ता, कर चुक्ता प्रमाणपत्र, कालोसूचीमा नपरेको प्रमाण, आधिकारिक निर्णयको प्रतिलिपि तथा ५० हजार रुपैयाँ धरौटी रकम जम्मा गरेको भौचर संलग्न गर्नुपर्नेछ । प्रस्ताव स्वीकृत भएपछि थप ९ लाख ५० हजार रुपैयाँ धरौटी राख्नुपर्नेछ । काम सम्पन्न भएपछि कुल १० लाख रुपैयाँ धरौटी फिर्ता गरिने जनाइएको छ ।

स्क्राप उठाउँदा वातावरणमा असर नपर्ने गरी व्यवस्थापन गर्नुपर्ने, नियमित रूपमा यार्ड सफा गर्नुपर्ने तथा एक साताभन्दा बढी स्क्राप नउठाए दैनिक ५ हजार रुपैयाँ हर्जाना तिर्नुपर्ने व्यवस्था गरिएको छ ।

Share News