काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले डिजिटल मुद्रा सञ्चालनमा ल्याउने घोषणा गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि सार्वजनिक गरिएको घोषणा पत्रमा एमालेले वित्तीय क्षेत्रलाई आधुनिक, सुरक्षित र उत्पादनमूलक बनाउने लक्ष्यसहित डिजिटल मुद्रा सञ्चालनमा ल्याउने प्रतिवद्धता जनाएको हो ।
घोषणा पत्रअनुसार वित्तीय क्षेत्र विकास रणनीतिलाई परिमार्जन गर्दै प्रभावकारी रूपमा कार्यान्वयन गरिनेछ । यसमार्फत नागरिकको वित्तीय पहुँच विस्तार, बचतको सुरक्षा सुनिश्चित तथा उच्च आर्थिक वृद्धिका लागि आवश्यक लगानी परिचालन गर्ने एमालेको योजना छ । बैंक तथा वित्तीय संस्थाको नियमनलाई थप सुदृढ बनाउँदै ऋण लगानी कृषि, उद्योग, ऊर्जा तथा अन्य पूर्वाधारजस्ता उत्पादनमूलक क्षेत्रमा केन्द्रित गरिने उल्लेख गरिएको छ ।
बीमा क्षेत्रमा प्रभावकारी नियमन, जनशक्ति विकास, क्षति मूल्याङ्कनको विश्वसनीयता वृद्धि तथा दाबी भुक्तानी प्रक्रिया सहज बनाइ पहुँच विस्तार गर्ने नीति लिइने एमालेले जनाएको छ । यस्तै, पुँजी बजारको प्रभावकारी नियमन, सुधार र विस्तारमार्फत लगानीका लागि स्वपुँजी तथा दीर्घकालीन ऋण परिचालन गरिने र शेयर लगानीकर्ताको हित संरक्षण गरिने प्रतिवद्धता गरिएको छ ।
घोषणा पत्रमा सामाजिक सुरक्षा कोष, सञ्चय कोष, नागरिक लगानी कोष, निक्षेप तथा कर्जा सुरक्षण कोषलगायत सम्झौतित बचत परिचालन गर्ने संस्थाहरूको प्रभावकारी नियमन गरिने उल्लेख छ । वित्तीय सेवालाई पूर्ण रूपमा डिजिटल बनाइने र वित्तीय प्रणालीमा हुने साइबर अपराध नियन्त्रण गरिने एमालेको भनाइ छ ।
एमालेले नियोजित रूपमा ऋण नतिर्ने प्रवृत्तिलाई रोक्ने, सानोतिनो ऋणको आवश्यकता वित्तीय प्रणालीमार्फत उपलब्ध गराई मिटरव्याजी समस्या समाधान गर्ने लक्ष्य पनि अघि सारेको छ । साथै, हाईब्रिड एन्युटी, ब्लेण्डेड फाइनान्स, भेञ्चर क्यापिटल, क्राउड फण्डिङ, प्राइभेट इक्विटी, डायस्पोरा बन्ड, हरित बन्ड तथा जलवायु वित्तजस्ता वैकल्पिक वित्तीय साधनमार्फत उच्च आर्थिक वृद्धिका लागि आवश्यक पुँजी जुटाइने उल्लेख छ ।
वैदेशिक रोजगारीबाट प्राप्त विप्रेषणलाई उत्पादनशील क्षेत्रमा परिचालन गर्न व्यावसायिक कृषि, साना तथा मझौला उद्योग र सेयर बजारमा लगानीका अवसर सिर्जना गरिने एमालेले जनाएको छ । साथै, विदेशी मुद्रा सञ्चितिलाई सुरक्षित र लाभप्रद क्षेत्रमा लगानी गरी उच्च प्रतिफल प्राप्त गर्ने नीति लिइने घोषणा पत्रमा उल्लेख गरिएको छ ।