काठमाडौं । नेपाली काँग्रेसले पुँजी बजारमा हुने भित्री कारोबार (इनसाइडर ट्रेडिङ) र अस्वाभाविक बजार चलखेल रोक्न अत्याधुनिक निगरानी प्रणाली लागू गर्ने जनाएको छ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि प्रतिज्ञा पत्र सार्वजनिक गर्दै यस्तो जनाएको हा ।
साथै नेपाली काँग्रेसको सरकार बनेपछि वैदेशिक रोजगारीमा रहेका नेपाली, गैरआवासीय नेपाली (एनआरएन) तथा आम नागरिकलाई मोबाइल एपमार्फत सहज रूपमा पुँजीबजारमा जोड्ने नीति कार्यान्वयन गर्ने जनाएको छ । साना लगानीकर्ताको हित संरक्षणका लागि ‘लगानीकर्ता संरक्षण कोष’ लाई अझ प्रभावकारी बनाइने प्रतिबद्धता जनाएको छ ।
नेपाली काँग्रेसले साना तथा मझौला उद्योगलाई पुँजी बजारमार्फत वित्तीय पहुँच विस्तार गर्न छुट्टै ‘एसएमई प्लेटफर्म’ विकास गर्ने योजना अघि सारेको छ । यसले यस्ता उद्योगलाई बजारबाट पुँजी जुटाउन सक्षम बनाउने पार्टीको दाबी छ ।
प्रतिज्ञा पत्रअनुसार धितोपत्र बोर्डलाई पूर्ण रूपमा स्वायत्त बनाइनेछ भने नेपाल स्टक एक्सचेन्ज (नेप्से) र सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) को संरचनागत सुधार गरी राफसाफ प्रणालीलाई विश्वस्तरीय बनाइनेछ । पार्टीले यी सुधारमार्फत पुँजी बजारलाई पारदर्शी, सुरक्षित र लगानीमैत्री बनाउने लक्ष्य लिएको जनाएको छ ।