वार्षिक १० लाख रुपैयाँसम्मको व्यक्तिगत आयमा आयकर नलाग्ने कांग्रेसको घोषणा

काठमाडौं । नेपाली कांग्रेसले वार्षिक १० लाख रुपैयाँसम्मको व्यक्तिगत आयमा आयकर नलाग्ने व्यवस्था गर्ने जनाएको छ । 

बिहीबार कांग्रेसले जारी गरेको घोषणापत्रमा वार्षिक १० लाख रुपैयाँसम्मको व्यक्तिगत आयमा आयकर नलाग्ने व्यवस्था गर्ने गरी मध्यम र न्यून आय भएकालाई राहत दिने उल्लेख छ ।

‘खेतबारीदेखि भान्सासम्म’ आपूर्ति संयन्त्र बनाएर उपभोक्तालाई सस्तो मूल्य र किसानलाई उचित लाभ दिलाउने कांग्रेसले प्रतिबद्धता जनाएको छ ।

आयातित ग्यासको विकल्पमा सहुलियत दरको बिजुली र विद्युतीय चुल्हो प्रवर्धन गरी भान्साको मासिक खर्च घटाउने घोषणापत्रमा बताइएको छ ।

खाना पकाउने ग्यासमा दिइने अनुदानलाई वास्तविक गरिब र लक्षित वर्गको बैंकको खातामा सिधै पुग्ने प्रणाली लागु गर्ने घोषणापत्रमा जनाइएको छ ।

सडक लगायतका रणनीतिक पूर्वाधारहरूको विस्तारमार्फत वस्तु ढुवानीको खर्च घटाई बजार भाउ सस्तो बनाउने कांग्रेसले बताएको छ ।

घोषणापत्रमा घरभाडा नियमनका लागि स्पष्ट निर्देशिका ल्याउनुका साथै न्यून आय भएका परिवारका लागि सरकारी जग्गामा सस्तो सामूहिक आवास बनाइदिने जनाइएको छ ।

त्यस्तै, सहुलियत आवास कर्जाको व्यवस्था गरिने र  सहरमा बस्ने विद्यार्थी तथा कार्यरत युवाका लागि सार्वजनिक–निजी साझेदारीमा सुलभ होस्टलहरू सञ्चालन गरी बसोबास खर्च घटाउने पनि घोषणापत्रमा उल्लेख छ । 

सार्वजनिक शिक्षा र उपचारको गुणस्तर बढाउँदै स्वास्थ्य र शिक्षामा नागरिकले आफ्नो गोजीबाट गर्नुपर्ने खर्चलाई घटाइने घोषणापत्रमा बताइएको छ ।

Share News