काठमाडौं । नेकपा एमालेले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि महत्त्वाकांक्षी पूर्वाधार र यातायात केन्द्रित घोषणापत्र सार्वजनिक गरेको छ । बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली-राष्ट्रिय आकांक्षा हाम्रो गन्तव्य’ मूल नारासहित घोषणापत्र सार्वजनिक गरेका हुन् ।
एमालेले यसपटक ‘सुरक्षित यातायात, आधुनिक पूर्वाधार-दिगो विकास र समृद्धिको आधार’ भन्ने विशेष नारा अघि सार्दै सडक, रेल, जलमार्गदेखि विमानस्थलसम्मको व्यापक पूर्वाधार विस्तारको खाका सार्वजनिक गरेको छ ।
घोषणापत्रअनुसार सबै गाउँपालिकालाई सबै मौसममा सञ्चालन हुने कम्तिमा एक सडकले जोड्ने, जिल्ला सदरमुकाम र प्रदेश राजधानीलाई राष्ट्रिय राजमार्गसँग आबद्ध गर्ने लक्ष्य राखिएको छ । अब बन्ने सडक कम्तिमा डबल लेनका हुने र पुराना सिंगल लेन सडकलाई स्तरोन्नति गरिने एमालेको दाबी छ ।
पूर्व-पश्चिम राजमार्ग लाई एक्सप्रेस हाइवेमा स्तरोन्नति गर्ने, मध्यपहाडी राजमार्ग लाई डेडिकेटेड डबल लेनमा निर्माण गर्ने, मदन भण्डारी राजमार्ग र हुलाकी राजमार्ग लाई रणनीतिक मार्गका रूपमा विकास गर्ने योजना अघि सारिएको छ ।
त्यस्तै, कोशी, गण्डकी र कर्णाली करिडोरलाई आर्थिक समृद्धिको मेरुदण्डका रूपमा विकास गर्ने प्रतिबद्धता गरिएको छ । राजधानीलाई तराई-मधेशसँग जोड्ने काठमाडौं-तराई द्रुतमार्ग निर्धारित समयमै सम्पन्न गर्ने एमालेको प्रतिबद्धता छ ।
साथै, पूर्व-पश्चिम विद्युतीय रेलमार्ग एक दशकभित्र सम्पन्न गर्ने, वीरगञ्ज-काठमाडौं र केरुङ-काठमाडौं विद्युतीय रेलमार्ग निर्माणका लागि पूर्वाधार तयारी अघि बढाउने, तथा नेपाल-भारत अन्तरदेशीय रेलमार्ग पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य घोषणापत्रमा समेटिएको छ ।
राजमार्ग, रेलमार्ग, जलमार्ग र विमानस्थललाई एकीकृत गर्ने ‘एकीकृत मल्टिमोडल ट्रान्सपोर्ट सिस्टम’ विकास गर्ने एमालेको योजना छ । सडकको गुणस्तर सुधार गर्दै अन्तर्राष्ट्रिय मापदण्डअनुसार निर्माण गर्ने, सडक दुर्घटना न्यूनीकरणका लागि पेट्रोलिङ, सीसी क्यामरा र ट्रमा सेन्टरको व्यवस्था गर्ने प्रतिबद्धता गरिएको छ ।
शहरी क्षेत्रमा १० मिनेटको दूरीमा सार्वजनिक यातायात पहुँच सुनिश्चित गर्ने, विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्ने, एकीकृत विद्युतीय भाडा प्रणाली लागू गर्ने तथा ठूला शहरमा मेट्रोरेल, मोनोरेल र विद्युतीय बस सेवा सञ्चालन गर्ने योजना अघि सारिएको छ ।
प्रमुख आन्तरिक विमानस्थल दैनिक १८ घण्टासम्म सञ्चालन गर्ने तथा अन्तर्राष्ट्रिय विमानस्थललाई थप आधुनिक र सुविधा सम्पन्न बनाउने एजेण्डा पनि घोषणापत्रमा समावेश छ ।
एमालेले विगतका निर्वाचनमा पनि यस्तै महत्त्वाकांक्षी पूर्वाधार योजनाहरू अघि सारेको भए पनि कार्यान्वयनमा उल्लेख्य प्रगति हुन नसकेको भन्दै आलोचना हुँदै आएको छ ।
यसपटक प्रस्तुत गरिएका यी योजनाहरू कार्यान्वयनको चरणमा कसरी अघि बढ्छन् भन्नेमा आम नागरिकको चासो केन्द्रित भएको छ ।