काठमाडौं । सामाजिक सञ्जालमा एआई तस्विर सार्वजनिक गरेर भ्रम नछर्न जिल्ला प्रहरी परिसर काठमाडौंले अनुरोध गरेको छ ।
विभिन्न सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले भ्रामक फोटो, भिडियो अन्य सूचना तथा एआई सिर्जित श्रव्यदृश्य सामाग्रीहरू सम्प्रेषण भएका विषय जिल्ला प्रहरी परिसर काठमाडौंले आफूलाई जानकारी रहेको बताएको छ ।
नारायणगोपाल चोकस्थित चक्रपथ सडक खण्डमा पैदलयात्रीलाई हातपात गर्ने सवारी चालकलाई कानुन बमोजिम अनुसन्धान भइरहेको परिसरले जनाएको छ ।
अनुसन्धान भएको विषयलाई सामाजिक सञ्जालमा भ्रामक फोटो, भिडियो तथा सूचना सम्प्रेषण गरिने कार्यमा सजग रहन परिसरका प्रवक्ता पवन कुमार भट्टराईले बताए । सबैले सामाजिक सञ्जालको प्रयोग गर्ने र सार्वजनिक जबाफदेहिता वहन गर्ने मानवीय कर्तव्य रहेको उनको भनाइ छ ।
प्रहरीले मंगलबार पैदलयात्रुमाथि कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । पैदलयात्रीमाथि कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले पारस बमलाई पक्राउ गरेको हो ।
भिडियोमा चालकले गाडीबाट झरेर पैदलयात्रीलाई मुक्का प्रहार गरेको दृश्य देखिन्छ। उनीसँगै गाडीबाट झरेर एक महिलाले पनि पैदलयात्रीलाई कराएको दृश्य छ ।