काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाललाई अहिले सुधार चाहिएको र सुधारको ग्यारेन्टी लिएर आफूहरू उभिएको बताएका छन् ।
बुधवार राजधानीमा आयोजिक कार्यक्रममा उनले अबको पाँच वर्ष खेर नफाल्ने गरि संकल्प र योजनासहित आफूहरू आएको बताए ।
उनले नागरिक तहमा विशेषगरी युवा पुस्तामा असन्तोष बढिरहेको उल्लेख गर्दै देश सञ्चालनको वर्तमान शैलीप्रति युवाहरूको गुनासो जायज रहेको बताए ।
त्यसलाई सम्बोधन गर्न सुधार आवश्यक रहेको उनको भनाइ छ ।
सभापति थापाका अनुसार विगत १०–१२ वर्षमा जति विकास हुनुपर्थ्यो, त्यो हुन सकेन । तर अबका पाँच वर्ष खेर जान नदिने उनले प्रतिवद्धता जनाए ।
देश बनाउन सबै राजनीतिक दलहरूको सहभागिता र सहकार्य आवश्यक रहेको उनको भनाइ छ ।
आगामी निर्वाचनबाट पपुलिस्ट शक्तिहरू सत्तामा आएमा त्यसको भार नेपालले थेग्न नसक्ने उनको भनाइ छ ।
उनले हालको प्रमुख चुनौती देशलाई पपुलिजमबाट जोगाउनु रहेको पनि बताए ।
सभापति थापाले बौद्धिक व्यक्तित्व तथा पेशाकर्मीहरूलाई पपुलिजमको विरुद्धमा बोल्न आग्रहसमेत गरेका छन्।