नेपाली कांग्रेसको प्रतीज्ञा पत्र सर्वसम्मत पारित, आज जनकपुरधामबाट सार्वजनिक हुने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै तयार पारिएको पार्टीको प्रतीज्ञा पत्र सर्वसम्मत रूपमा पारित गरेको छ । भर्चुअल माध्यमबाट बसेको केन्द्रीय कार्यसमितिको बैठकले फागुन २१ गते हुने निर्वाचनका लागि तयार पारिएको उक्त प्रतीज्ञा पत्र अनुमोदन गरेको हो ।

पारित प्रतीज्ञा पत्र बुधबार (आज) मधेस प्रदेशको ऐतिहासिक तथा सांस्कृतिक नगरी जनकपुरधाममा आयोजना हुने विशेष सभामार्फत सार्वजनिक गरिने पार्टीले जनाएको छ । कांग्रेसले मधेसबाटै चुनावी अभियानलाई औपचारिक गति दिन खोजेको देखिएको छ ।

प्रतीज्ञा सभा कार्यक्रममा पार्टीका सभापति गगनकुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा लगायत केन्द्रीय तहका शीर्ष नेताहरूको सम्बोधन रहनेछ । उनीहरूले प्रतिज्ञा पत्रका मुख्य प्रतिबद्धता, सुशासन, आर्थिक सुधार, रोजगारी सिर्जना, संघीयताको सुदृढीकरण तथा समावेशी लोकतन्त्रका एजेन्डाबारे धारणा राख्ने कार्यक्रम छ ।

कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार जनकपुरधाममा आयोजना हुने यो सभा केवल चुनावी औपचारिकता नभई मधेसको स्वाभिमान, सामाजिक सद्भाव, पहिचान र राष्ट्रिय एकताको सन्देश दिने ऐतिहासिक अवसरका रूपमा लिइएको छ । मधेस आन्दोलनपछिको राजनीतिक सन्दर्भलाई ध्यानमा राख्दै कांग्रेसले मधेसमा आफ्नो उपस्थितिलाई अझ सशक्त बनाउने रणनीति अघि सारेको बुझिएको छ ।

पार्टी स्रोतका अनुसार प्रतिज्ञा पत्रमा सुशासन, भ्रष्टाचार नियन्त्रण, शिक्षा–स्वास्थ्यमा सुधार, कृषि आधुनिकीकरण, युवा रोजगारी तथा आर्थिक वृद्धिदर उकास्ने कार्यक्रमहरूलाई प्राथमिकता दिइएको छ ।

आगामी निर्वाचनलाई निर्णायक मोडका रूपमा लिँदै कांग्रेसले प्रतिज्ञा पत्रमार्फत मतदातासँग प्रत्यक्ष प्रतिबद्धता जनाउन खोजेको जनाएको छ । जनकपुरबाट सुरु हुने यो अभियानले तराई–मधेस क्षेत्रमा चुनावी प्रतिस्पर्धालाई थप रोचक बनाउने राजनीतिक विश्लेषकहरूको आंकलन छ ।

Share News