काठमाडौं । पार्टीको औपचारिक घोषणापत्र सार्वजनिक हुनुअघि नै एमाले अध्यक्ष तथा झापा–५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार केपी शर्मा ओलीले मंगलबार आफ्नो व्यक्तिगत ४२ बुँदे प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् ।
चार मुख्य शीर्षकअन्तर्गत राष्ट्रिय र स्थानीय एजेन्डा समेटिएको उक्त दस्तावेजलाई उनले ‘जनतासँगको प्रत्यक्ष करार’ का रूपमा व्याख्या गरेका छन् ।
प्रतिबद्धतापत्र सार्वजनिक गर्दै ओलीले भने, ‘यो केवल चुनावी नारा होइन, कार्यान्वयनका लागि तयार गरिएको स्पष्ट कार्ययोजना हो । झापा–५ लाई समृद्ध, व्यवस्थित र नमुना निर्वाचन क्षेत्र बनाउने मेरो संकल्प छ ।’
उनले आफू निर्वाचित भए अधुरा विकास आयोजना पूरा गर्ने, नयाँ परियोजना अघि बढाउने र जनताको जीवनस्तर सुधारलाई प्राथमिकतामा राख्ने बताए ।
राष्ट्रिय एजेन्डातर्फ आर्थिक आत्मनिर्भरता, उत्पादन र निर्यात वृद्धि, रोजगारी सिर्जना, सुशासन प्रवद्र्धन, भ्रष्टाचार नियन्त्रण तथा सामाजिक सुरक्षा सुदृढीकरणलाई मुख्य प्राथमिकता दिइएको छ ।
पूर्वाधार विस्तार, ऊर्जा उत्पादन वृद्धि, कृषि आधुनिकीकरण र औद्योगिक लगानी विस्तारमार्फत देशको अर्थतन्त्र बलियो बनाउने लक्ष्य उल्लेख गरिएको छ ।
स्थानीय एजेन्डामा झापा–५ केन्द्रित सडक स्तरोन्नति, पुल निर्माण, सिँचाइ सुविधा विस्तार, आधुनिक कृषि प्रविधिको प्रयोग, साना तथा मझौला उद्योग प्रवर्द्धन, स्वास्थ्य सेवा सुधार र शिक्षामा गुणस्तर वृद्धि गर्ने योजना समेटिएको छ । युवाका लागि सीपमूलक तालिम, स्टार्टअप प्रोत्साहन र रोजगारी सिर्जना कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ ।
ओलीले भने, ‘विकासका काममा ढिलासुस्ती अन्त्य गरिनेछ । स्थानीय तहसँग समन्वय गरेर प्रत्यक्ष लाभ पुग्ने आयोजना अघि बढाइनेछ ।’
उनले जनताको विश्वासलाई सबैभन्दा ठूलो शक्ति बताउँदै यसपटक स्पष्ट योजना र परिणाममुखी नेतृत्वसहित अघि बढ्ने दाबी गरे ।
एमाले स्रोतका अनुसार केन्द्रीय घोषणापत्रसमेत चाँडै सार्वजनिक गर्ने तयारी भइरहेको छ ।
