एनसेलको आम्दानी साढे ३२ अर्ब, बैंकमा ऋण ३२ अर्ब रुपैयाँ

३ वर्षदेखि सेयर हस्तान्तरण भएन

काठमाडौं । दूरसञ्चार सेवा प्रदायक एनसेल आजियटा लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा ८ अर्ब १८ करोड ९० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ ।

कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ मा कुल ३२ अर्ब ५४ करोड ५० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । यो आम्दानी अघिल्लो आर्थिक वर्षको तुलनामा ४.४७ प्रतिशत अर्थात् १ अर्ब ५२ करोड ३० लाख रुपैयाँले कम हो र आर्थिक वर्ष २०८०/८१ मा कम्पनीको सञ्चालन आम्दानी ३४ अर्ब ६ करोड ८० लाख रुपैयाँ रहेको थियो ।

यसअघि आर्थिक वर्ष २०७९/८० मा ३७ अर्ब ४४ करोड २० लाख रुपैयाँ, आव २०७८/७९ मा ३९ अर्ब ७२ करोड ५० लाख रुपैयाँ, आव २०७७/७८ मा ४० अर्ब ४० करोड ४० लाख रुपैयाँ, आव २०७६/७७ मा ४६ अर्ब ८७ करोड ४० लाख रुपैयाँ, आव २०७५/७६ मा ५५ अर्ब ३९ करोड ८० लाख रुपैयाँ, आव २०७४/७५ मा ५९ अर्ब ८१ करोड ७० लाख रुपैयाँ र आव २०७३/७४ मा ५७ अर्ब १० करोड २० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो ।

कम्पनीको आम्दानीमा निरन्तर गिरावट देखिए पनि नाफासम्बन्धी सूचकहरू भने सन्तोषजनक अवस्थामा रहेका छन् । आर्थिक वर्ष २०८१/८२ मा कम्पनीको सञ्चालन नाफा मार्जिन करिब ५० प्रतिशत कायम रहेको छ, जुन अघिल्लो आर्थिक वर्षको करिब ५४ प्रतिशतभन्दा केही कम हो । यस अवधिमा कम्पनीको जीएसएम आम्दानी बजार हिस्सा ५१ प्रतिशतमा झरेको छ, जुन अघिल्लो वर्ष ५३ प्रतिशत थियो ।

भ्वाइस सेवा तथा अन्तर्राष्ट्रिय लामो दूरीका कलबाट हुने आम्दानी घट्दा मार्जिनमा दबाब परेको भए पनि लागत नियन्त्रण रणनीतिका कारण ठूलो गिरावट रोकिएको कम्पनीको भनाइ छ । गत वर्ष एनसेलको भ्वाइस तथा डेटा बजार हिस्सा करिब ४८ प्रतिशत रहेको छ ।

कम्पनीका अनुसार २०२५ अक्टोबर मध्यसम्म करिब १४ अर्ब रुपैयाँ बराबरको नगद मौज्दात रहेको छ । यद्यपि हालसम्म नेपाल बाहिर पठाउन स्वीकृति नपाएको लाभांश रकम ७ अर्ब ४८ करोड रुपैयाँ रहेको छ ।

दूरसञ्चार उद्योगमा उच्च नियामकीय जोखिम, प्रविधि चाँडै पुरानो हुने सम्भावना, नियमित तथा प्रविधिगत सुधारका लागि आवश्यक ठूलो पुँजीगत खर्च, साथै सन् २०२९ सेप्टेम्बरमा प्रारम्भिक २५ वर्षे लाइसेन्स अवधि समाप्त भएपछि लाइसेन्स नवीकरणबारेको अनिश्चितता प्रमुख चिन्ताका विषय रहेको कम्पनीले जनाएको छ ।

सन् २०२५ जुलाई मध्यसम्म कम्पनीसँग करिब ८६ अर्ब रुपैयाँ बराबरका सशर्त दायित्व रहेका छन् । तीमध्ये करिब ६७ प्रतिशत २०१६ मा भएको स्वामित्व परिवर्तनसँग सम्बन्धित कर दाबी हुन् । कम्पनीले यसअघि नै सोही घटनासँग सम्बन्धित पुँजीगत लाभकर, जरिवाना तथा शुल्क गरी करिब ४७ अर्ब रुपैयाँ भुक्तानी गरिसकेको जनाएको छ । ती दायित्वहरू वास्तविक रूपमा लागू भएमा कम्पनीको वित्तीय अवस्थामाथि ठूलो असर पर्न सक्ने बताइएको छ ।

दूरसञ्चार उद्योगमा उच्च नियामकीय जोखिम, प्रविधि छिटो पुरानो हुने सम्भावना, सेवा विस्तार तथा गुणस्तर सुधारका लागि आवश्यक ठूलो पुँजीगत खर्च, साथै सन् २०२९ सेप्टेम्बरमा प्रारम्भिक २५ वर्षे लाइसेन्स अवधि समाप्त भएपछि लाइसेन्स नवीकरणबारेको अनिश्चितता प्रमुख चिन्ताका विषय रहेको कम्पनीले जनाएको छ ।

सन् २००१ मा स्पाइस नेपालको नामबाट स्थापना भएको कम्पनीले सन् २००५ सेप्टेम्बरदेखि ‘मेरो मोबाइल’ ब्रान्डमार्फत नेपालमा पहिलो निजी क्षेत्रको जीएसएम दूरसञ्चार सेवा प्रदायकका रूपमा व्यावसायिक सेवा सुरु गरेको थियो । सन् २००८ सेप्टेम्बरमा युरोपेली दूरसञ्चार कम्पनी टेलियासोनेराले कम्पनीको सेयर खरिद गरेपछि सन् २०१० मार्चमा ब्रान्ड नाम परिवर्तन गरी ‘एनसेल’ राखिएको थियो । त्यसपछि कम्पनीको कानुनी नाम पनि परिवर्तन भई एनसेल प्राइभेट लिमिटेड कायम गरिएको थियो ।

सन् २०१६ अप्रिल १२ मा मलेसियास्थित दूरसञ्चार ग्रुप आजियाटा ग्रुप बर्हाडले वेस्ट इन्डिजमा दर्ता रहेको रेनोल्ड्स होल्डिंग लिमिटेडको १०० प्रतिशत सेयर खरिद गरेसँगै एनसेल औपचारिक रूपमा आजियाटा ग्रुपअन्तर्गत समावेश भएको थियो । रेनोल्ड्स होल्डिङ लिमिटेडमार्फत एनसेलमा ८० प्रतिशत सेयर स्वामित्व रहेको छ भने बाँकी २० प्रतिशत सेयर नेपालस्थित सुनिभेरा क्यापिटल भेन्चर प्राइभेट लिमिटेडको स्वामित्वमा छ ।

सन् २०१६ अप्रिल १२ मा मलेसियास्थित दूरसञ्चार समूह आजियाटा ग्रुप बर्हाडले वेस्ट इन्डिजमा दर्ता रहेको रेनोल्ड्स होल्डिङ लिमिटेडको १०० प्रतिशत सेयर खरिद गरेसँगै एनसेल औपचारिक रूपमा आजियाटा समूहअन्तर्गत समावेश भएको थियो । रेनोल्ड्स होल्डिङ लिमिटेडमार्फत एनसेलमा ८० प्रतिशत सेयर स्वामित्व रहेको छ भने बाँकी २० प्रतिशत सेयर नेपालस्थित सुनिभेरा क्यापिटल भेन्चर प्राइभेट लिमिटेडको स्वामित्वमा छ ।

यसपछि कम्पनीको नाम परिवर्तन गरी एनसेल आजियाटा लिमिटेड राखियो भने सन् २०२० अगस्ट ३ मा कम्पनी पब्लिक लिमिटेडमा रूपान्तरण गरिएको थियो । सन् २०२३ डिसेम्बरमा आजियाटा समूहले रेनोल्ड्स होल्डिङ लिमिटेडमा रहेको आफ्नो १०० प्रतिशत सेयर बेलायतमा दर्ता भएको पेक्ट्रलाइट युके लिमिटेडलाई बिक्री गरेको छ । तर उक्त सेयर हस्तान्तरण नेपालका सम्बन्धित नियामक निकायबाट स्वीकृत हुन बाँकी रहेकाले कम्पनीको कानुनी नाम हालसम्म पनि परिवर्तन नभएको एनसेलले जनाएको छ । स्पेक्ट्रलाइट युके लिमिटेडका सम्पूर्ण सेयर सिंगापुर नागरिक तथा नेपाली मूलका व्यवसायी सतिशलाल आचार्यको स्वामित्वमा छ ।

विगत केही वर्षदेखि सञ्चालन नाफा मार्जिनमा क्रमिक गिरावट देखिए पनि गत वर्ष ५० प्रतिशत मार्जिन कायम रहनु सकारात्मक मानिएको छ, जुन अघिल्लो वर्ष ५४ प्रतिशत थियो । भ्वाइस तथा अन्तर्राष्ट्रिय लामो दूरी (आईएलडी) कलबाट हुने आम्दानी घट्दा मार्जिनमा असर परे पनि लागत नियन्त्रण रणनीतिका कारण ठूलो गिरावट रोकिएको कम्पनीको भनाइ छ ।

कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट २० अर्ब रुपैयाँ दीर्घकालीन र १२ अर्ब रुपैयाँ अल्पकालीन गरी कुल ३२ अर्ब रुपैयाँ ऋण लिएको छ । यसअघि कम्पनीले १० अर्ब ६० करोड रुपैयाँ दीर्घकालीन र १२ अर्ब रुपैयाँ अल्पकालीन गरी २२ अर्ब ६० करोड रुपैयाँ ऋण लिएको थियो ।

Share News