दीप्ति आचार्य इन्टरनेशनल करिकुलम एसोसिएसनकी राजदूतमा नियुक्त

काठमाडौं । इन्टरनेशनल करिकुलम एसोसिएसन (आईसीए)ले दीप्ति आचार्यलाई सन् २०२५–२०२६ का लागि आईसीएको राजदूतमा नियुक्त गरेको छ ।

दीप्ति आचार्य संस्कृति इन्टरनेशनल स्कुलकी संस्थापक निर्देशक हुन् । उनले नेपाल तथा छिमेकी देशहरूमा आईसीएको प्रतिनिधित्व गर्नेछिन् । साथै, इन्टरनेशनल अर्ली इयर्स करिकुलम, इन्टरनेशनल प्राइमरी करिकुलम र इन्टरनेशनल मिडल इयर्स करिकुलममार्फत सिकाइ सुधारमा प्रतिबद्ध शिक्षकहरूको सञ्जाल विस्तार र सुदृढीकरणमा भूमिका खेल्नेछिन् ।

उनको नेतृत्वमा सञ्चालित संस्कृति इन्टरनेशनल स्कुल दक्षिण एसियामै पहिलो पटक इन्टरनेशनल प्राइमरी करिकुलमको मान्यता प्राप्त गर्ने विद्यालय बनेको थियो । राजदूतका रूपमा नियुक्त भएपछि उनले अन्य विद्यालयहरूलाई मार्गदर्शन गर्ने, तालिम सञ्चालन गर्ने तथा अन्तर्राष्ट्रिय पाठ्यक्रमको गुणस्तरीय कार्यान्वयनलाई क्षेत्रभर प्रवर्द्धन गर्ने जिम्मेवारी निर्वाह गर्नेछिन् ।

आईसीएकी निर्देशक साहारा ब्लाकमोरले दीप्ति आचार्यको नियुक्तिप्रति खुशी व्यक्त गर्दै गुणस्तरीय शिक्षाप्रति उनको प्रतिबद्धता र नेतृत्व क्षमताले एसिया–प्रशान्त क्षेत्रका विद्यालय समुदायलाई प्रेरणा दिने विश्वास व्यक्त गरिन्।

आईसीएको ‘आईसीए एम्बासडर’ कार्यक्रमले ‘इम्प्रुभिङ लर्निङ’ दर्शनलाई प्रभावकारी रूपमा कार्यान्वयन गरेका अनुभवी शैक्षिक नेतृत्वकर्तालाई छनोट गर्ने गर्दछ । आचार्यको कार्यकाल अन्तर्राष्ट्रिय विद्यालयहरूको सञ्जाल सुदृढीकरण तथा शिक्षण विधि र नेतृत्वका उत्कृष्ट अभ्यास प्रवर्द्धनमा केन्द्रित रहने जनाइएको छ ।

दीप्ति आचार्य एएमआई–प्रशिक्षित मन्टेसरी शिक्षिका हुन् र अमेरिकाबाट मन्टेसरी शिक्षामा स्नातकोत्तर उपाधि हासिल गरेकी छन् । उनी विगत पाँच वर्षदेखि अन्तर्राष्ट्रिय प्रशिक्षकका रूपमा पनि क्रियाशील छिन् ।

शिक्षा क्षेत्रसँगै उनी टोयस्टमास्टर इन्टरनेशनलकी सक्रिय नेतृत्वकर्ता तथा जोन्टा क्लब अफ काठमाडौंकी सदस्य हुन् । साथै, उनी महिला तथा बालबालिकाको अधिकार र हितका लागि निरन्तर वकालत गर्दै आएकी सामाजिक अभियन्ता पनि हुन् ।  

Share News