काठमाडौं । कालो चस्मा, कालै ज्याकेट । खाइलाग्दो ज्यान । हेर्दा भलाद्मी व्यक्ति । तर, तिनै भलाद्मी देखिने व्यक्ति मंगलबार (आज) सामाजिक सञ्जालमा नराम्रोसँग भाइरल बने ।
उनले आफू चढेको बा ३ च ११०३ नम्बरको जीपबाट ओर्लिएर एक जना वृद्ध व्यक्तिलाई मुक्का हानेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । उनीसँगै सोही जीपबाट ओर्लिएकी अर्की महिलाले पनि ती पैदलयात्रीलाई झपारेको भिडियोमा देखिन्छ ।
यो घटना चक्रपथ चप्पल कारखाना अगाडिको सडक भए बताइएको छ।
पैदलयात्रीलाई मुक्का हान्ने व्यक्ति पारस बम रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ । सामाजिक सञ्चालमा उनको तीव्र आलोचना भएपछि प्रहरीले उनलाई पक्राउ गरेको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीका अनुसार बुढानिलकण्ठ बस्ने बम पक्राउ परिसकेका छन् । अहिले यो विषयमा थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।
यातायात व्यवस्था कार्यालय एकान्तकुनाका अनुसार यो गाडी काठमाडौं महानगरपालिका वडा नं ४ बस्ने नुच्छे महर्जनको नाममा रहेको छ ।