काठमाडौं । आसन्न निर्वाचनको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै नेपाली सेनाले भोजपुरको कारागार र विमानस्थल सुरक्षाको जिम्मेवारी सम्हालेको छ ।
सदरमुकाममा रहेको कारागार कार्यालयसँगै भोजपुर नगरपालिका-१२, टक्सारमा रहेको जिल्लाको एक मात्र विमानस्थलको सुरक्षाका लागि सेना परिचालन गरिएको हो । कार्यरत प्रहरी निर्वाचनका लागि खटिनुपर्ने भएकाले ती दुवै ठाउँको सुरक्षाका लागि सेनालाई जिम्मेवारी दिइएको हो ।
जिल्लामा रहेका नेपाली सेनाको नयाँ श्रीनाथ गणले कारागार कार्यालय र विमानस्थलको सुरक्षा जिम्मेवारी सम्हालेको ती कार्यालयले जनाएका छन् ।
सुरक्षाका दृष्टिकोणले अतिसंवेदनशील मानिएका कारागार, विमानस्थल तथा आयोजनामा सेना परिचालन गर्ने मन्त्रिपरिषद्को निर्णय अनुरूप ती ठाउँको सुरक्षामा सेना खटिएको जिल्ला सुरक्षा समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी राजन पौडेलले बताए ।
गत माघ २१ गतेदेखि निर्वाचनका लागि शान्तिसुरक्षा कायम गर्न सेना परिचालन गर्ने निर्णयसँगै भोजपुरका ग्रामीण क्षेत्रमा पनि अहिले नेपाली सेनाले अन्य सुरक्षा निकायसँगको सहकार्यमा गस्तीलगायत कार्य गरिरहेको छ ।