गुल्मीमा ६ उम्मेदवारले आफैलाई मतदान गर्न नपाउने

काठमाडौं । गुल्मी जिल्लाका दुईवटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रका ४३ उम्मेदवारमध्ये ६ जना उम्मेदवारले भने आफ्नै पक्षमा मतदान गर्न नपाउने भएका छन् । आफू उम्मेदवार बनेको निर्वाचन क्षेत्रमा मतदाता नामावली नरहेका कारण उनीहरू मतदानबाट वञ्चित हुने अवस्था आएको हो ।

गुल्मी क्षेत्र नम्बर २ बाट उम्मेदवार रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का गोविन्द पन्थीले आफ्नै पक्षमा मत हाल्न नपाउने भएका छन् । निर्वाचन आयोगको मतदाता नामावलीअनुसार पन्थीको नाम काठमाडौं महानगरपालिका–१० मा रहेको छ । 

संघीय संसदको उम्मेदवार हुन देशको जुनसुकै मतदान केन्द्रमा नामावली भए पुग्छ । मतदान भने सम्बन्धित मतदाता नामावली रहेको मतदान केन्द्रबाट मात्रै गर्न पाइने कानुनी व्यवस्था छ ।

मतदाता नामावली तथा मतदान सम्बन्धी ऐनले देशको कुनै पनि स्थानको मतदाता नामावलीमा नाम रहे उम्मेदवार बन्न रोक लगाएको छैन । तर मतदान गर्न भने आफ्नो नाम दर्ता भएको मतदान केन्द्रमै उपस्थित हुनुपर्ने व्यवस्था गरेको छ । यही प्रावधानका कारण पन्थीले गुल्मी–२ मा उम्मेदवारी दिए पनि त्यहीँबाट मतदान गर्न नपाउने भएका हुन्।

यस्तै, गुल्मी–१ बाट मंगोल नेशनल अर्गनाइजेशनका उम्मेदवार खड्कबहादुर गुरुङको मतदाता नामावली नवलपरासीको बर्दघाट नगरपालिकामा रहेको छ । त्यसैगरी, नेशनल रिपब्लिकन पार्टीबाट गुल्मी–१ का उम्मेदवार लोकबहादुर थापाको मतदाता नामावली बुटवल उपमहानगरपालिका सालघारीमा रहेको छ । उनीहरू दुवैले पनि आफू उम्मेदवार भएको क्षेत्रमा मतदान गर्न पाउने छैनन् ।

यसैगरी, जनमोर्चाका उम्मेदवार लालबहादुर थापा र मंगोल नेशनल अर्गनाइजेशनका उम्मेदवार वेदबहादुर थापाले पनि आफ्नै क्षेत्रमा मत हाल्न नपाउने भएका छन् । 

उनीहरूको मतदाता नामावली सम्बन्धित निर्वाचन क्षेत्रभन्दा बाहिर रहेको छ । लाल बहादुरको मतदाता नामावली काठमाडौंको नागार्जुन नगरपालिका र वेदबहादुरको दाङको घोराही उपमहानगरपालिकामा रहेको छ ।

त्यस्तै नेपाल मजदुर किसान पार्टीकी उम्मेदवार मैयाँलक्ष्मी त्यातले पनि मतदान गर्न पाउने छैनिन् । भक्तपु्र निवासी त्यात गुल्मी– १ बाट चुनावी मैदानमा उत्रिएकी छन् ।

Share News