उज्यालो नेपाल पार्टीले सार्वजनिक गर्‍यो निर्वाचन प्रतिबद्धतापत्र, २०३५ सम्म १११ अर्ब डलर जीडीपी पुर्‍याउने लक्ष्य

काठमाडौं । उज्यालो नेपाल पार्टीले आइतबार (आज) आफ्नो निर्वाचन प्रतिबद्धतापत्र सार्वजनिक गर्दै आगामी आर्थिक र पूर्वाधार योजना प्रस्तुत गरेको छ । 

पार्टीले २०३०-२०३५ सम्मका लागि देशको आर्थिक रूपान्तरण र विकास लक्ष्यहरू घोषणा गरेको हो ।

पार्टीका अनुसार सन् २०३०  सम्म कूल गार्हस्थ्य उत्पादन (जीडीपी) ७० अर्ब डलर र  २०३५ सम्म १११ अर्ब डलर पुर्याउने लक्ष्य रहेको छ । यसअन्तर्गत २५ हजार मेगावाट विद्युत उत्पादन गरी विदेशी बजारमा निर्यात गर्ने, जसबाट वार्षिक आम्दानी वृद्धि हुने योजना छ ।

योजना अनुसार जलविद्युत, जडीबुटी, सिमेन्ट, पर्यटन र सूचना प्रविधि (आईटी) क्षेत्रलाई प्रवर्द्धन गरी उत्पादन, निर्यात, पूर्वाधार र विप्रेषणबाट जीडीपी बढाइने छ ।

२०३५ सम्म नेपाललाई उच्च मध्यम आय भएको मुलुकमा रूपान्तरण गर्ने लक्ष्य पनि पार्टीले लिएको छ । यस अन्तर्गत निर्यात २०३० सम्म १० अर्ब डलर र २०३५ सम्म २० अर्ब डलर  पुर्याउने योजना रहेको छ ।

त्यसैगरी, श्रममूलक प्रविधि, जलविद्युत, जडीबुटी र नविन प्रविधिको उचित उपयोग गरेर व्यापार घाटा घटाउने योजना पनि प्रतिबद्धतामा समावेश गरिएको छ ।

Share News