काठमाडौं । श्वासप्रश्वाससम्बन्धी बिरामीलाई सर्व सुलभ रुपमा विशेषज्ञ चिकित्सा सेवा प्रदान गर्न ललितपुर महानगरपालिका-१३ स्थित मान भवनमा ‘नेशनल चेष्ट सेन्टर’ सञ्चालनमा ल्याइएको छ । पछिल्लो समय विभिन्न कारणले श्वासप्रश्वास (छाती) सम्बन्धी रोग दिनप्रतिदिन गम्भीर जनस्वास्थ्य समस्याका रूपमा बढ्दै गएको छ । यस्तो अवस्थामा स्वदेशमा नै श्वासप्रश्वाससम्बन्धी केन्द्रित भएर एकीकृत सेवा प्रदान गर्न पहिलोपटक छुट्टै ‘सेन्टर’ को स्थापना गरिएको हो ।
‘सेन्टर’बाट फोक्सोको कार्यक्षमता परीक्षण, डिजिटल एक्स-रे तथा आवश्यक इमेजिङ सुविधा, एलर्जी तथा दमको परीक्षणसम्बन्धी सेवा, सिओपिडी, दम, क्षयरोग तथा अन्य दीर्घकालीन श्वासप्रश्वास रोगको समग्र उपचार, कोभिडपश्चात् फोक्सो परीक्षण क्लिनिक, धुमपान त्याग परामर्श सेवा, विशेषज्ञ परामर्शसहित नियमित फलोअप, अत्याधुनिकस्तरको प्रयोगशाला सुविधा, बिरामीलाई सहज रूपमा औषधि उपलब्ध गराउन आफ्नै फार्मेसी सञ्चालन, बिरामीलाई एकै स्थानबाट सम्पूर्ण सेवा प्राप्त गर्ने सुविधा प्रदान गरिने जनाइएको छ । यसले गर्दा बिरामीको समय र खर्च दुवै बचत गर्ने अपेक्षा गरिएको छ ।
‘नेशनल चेष्ट सेन्टर’द्वारा जारी विज्ञप्तिका अनुसार ‘सेन्टर’को उद्देश्य केवल उपचारमा मात्र सीमित छैन । यसको दीर्घकालीन लक्ष्य श्वासप्रश्वास रोगको रोकथाम र जनचेतना अभिवृद्धि गर्नु पनि हो । विज्ञप्तिमा भनिएको छ, ‘नियमित स्वास्थ्य परीक्षणको महत्वबारे जानकारी गराउने, वायु प्रदूषणबाट जोगिने उपायबारे सचेतना फैलाउने, सुर्तीजन्य पदार्थ त्याग्न प्रोत्साहन गर्ने तथा विद्यालय, कलेज र समुदायस्तरमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने ‘सेन्टर’ योजना रहेको छ । श्वासप्रश्वास रोगको समयमै पहिचान र उपचार नगरेमा यसले दीर्घकालीन जटिलता निम्त्याउन सक्छ । प्रारम्भिक अवस्थामा नै परीक्षण तथा उपचार सुरु गर्न सकेमा रोग नियन्त्रण सम्भव हुन्छ र जीवनस्तर सुधार गर्न सकिन्छ । त्यसैले ‘रोकथाम नै उपचारभन्दा उत्तम’ भन्ने सिद्धान्तलाई आत्मसात गर्दै सेन्टरले समग्र, समन्वित र वैज्ञानिक सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।’
बढ्दो प्रदूषण, बदलिँदो जीवनशैली, धुमपान सेवन र महामारीपछिको अवस्थाले नेपालमा श्वासप्रश्वास रोगलाई गम्भीर चुनौतीका रूपमा उभ्याएको छ । यस्तो अवस्थामा विशेषज्ञ, प्रविधिसहितको तथा बिरामीमैत्री सेवा केन्द्रको आवश्यकता महसुस गर्दै यो पहल सुरु गरिएका छ । ‘सेन्टर’ काठमाडौँ उपत्यकामात्र होइन, देशभरबाट आउने बिरामीलाई समेत सेवा प्रदान गर्ने लक्ष्य राखेको विज्ञप्तिमा उल्लेख छ ।
श्वासप्रश्वास रोगका लागि पूर्ण रूपमा समर्पित, बहुआयामिक सेवा दिने छुट्टै ‘चेष्ट सेन्टर’को अभाव रहँदै आएका अवस्थामा यो ‘सेन्टर’ स्थापनाले स्वास्थ्य क्षेत्रमा नयाँ आयाम थपेको बताइएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का अनुसार विश्वभर हरेक वर्ष करोडौँ मानिस विभिन्न प्रकारका श्वासप्रश्वास रोगबाट प्रभावित भइरहेका छन् । दीर्घकालीन अवरोधात्मक फोक्सो रोग (सिओपिडी), दम, निमोनिया, क्षयरोग तथा फोक्सोसम्बन्धी रोगले गर्दा विश्वव्यापी रूपमा पर्दछन् ।
विज्ञप्तिमा भनिएको छ, ‘विश्वमा सिओपिडीले मात्र हरेक वर्ष लाखौँ मानिसको मृत्युको कारण बन्ने गरेको छ । नेपालको सन्दर्भमा पनि अवस्था कम चिन्ताजनक छैन । उपलब्ध राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अध्ययनहरूका आधारमा नेपालमा करिब १० देखि १२ प्रतिशत वयस्क जनसङ्ख्यामा कुनै न कुनै प्रकारको दीर्घकालीन श्वासप्रश्वास समस्या रहेको अनुमान गरिएको छ ।’
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार दीर्घकालीन श्वासप्रश्वास रोगहरू नसर्ने रोग प्रमुख समस्याका रूपमा उल्लेख गरिएको छ । नेपालमा हुने कुल मृत्युको झण्डै ९-१० प्रतिशत हिस्सा सिओपीडीलगायतका दीर्घकालीन फोक्सो रोगसँग सम्बन्धित रहेको तथ्याङ्कले देखाएको छ । दमको समस्या वृद्धवृद्धामा मात्र होइन, बालबालिका तथा युवामाझसमेत बढ्दो क्रममा देखिएको छ । सहरी क्षेत्रमा विद्यालय उमेर समूहका बालबालिकामा एलर्जीजन्य दमको दर उल्लेख्य रूपमा बढेको विभिन्न अध्ययनहरूले देखाएका छन् । विगतमा श्वासप्रश्वास समस्या प्रायः वृद्धवृद्धामा सीमित देखिने गरेकामा पछिल्लो समय युवा तथा कामकाजी उमेर समूहमा समेत यसको दर बढ्नु भविष्यका लागि गम्भीर र जटिल सङ्केत हो ।
विज्ञप्तिमा भनिएको छ, ‘कोभिड-१९ महामारीपछि स्थिति झन् जटिल बनेको छ । सङ्क्रमण निको भएपछि पनि धेरै व्यक्तिहरूमा लामो समयसम्म श्वास फेर्न गाह्रो हुने, छाती भारी हुने, दीर्घकालीन खोकी लागिरहने तथा फोक्सोको कार्यक्षमता घट्ने समस्या देखिएको छ । जसलाई ‘लङ कोभिड’का रूपमा चिनिन्छ । नेपालमा पनि कोभिड-१९ पश्चात श्वासप्रश्वाससम्बन्धी परामर्श तथा परीक्षण गराउने बिरामीको सङ्ख्या उल्लेख्य रूपमा बढेको चिकित्सकहरूको अनुभवले देखाएको छ । अर्कातफ काठमाडौं उपत्यकामा बढ्दो वायु प्रदूषणले श्वासप्रश्वास रोगलाई थप तीव्र बनाइरहेको छ । विभिन्न अन्तर्राष्ट्रिय वायु गुणस्तर सूचकाङ्कहरूमा काठमाडौं विश्वकै उच्च प्रदूषण भएका सहरको सूचीमा पटकपटक अग्रस्थानमा देखिँदै आएको छ ।’
सवारीसाधनको अत्यधिक चाप, पुराना डिजेल इन्जिन, निर्माणकार्यबाट उड्ने धुलो, उद्योगजन्य उत्सर्जन तथा खुला फोहर दहनजस्ता कारणले वायु प्रदूषणको स्तर उच्च बनाएको छ । वायु प्रदूषणको दीर्घकालीन सम्पर्कले दम, सिओपिडी, फोक्सोको क्यान्सर तथा मुटुरोगसमेत निम्त्याउने जोखिम बढाउँछ । श्वासप्रश्वास रोग बढ्नुको अर्को प्रमुख कारण सुर्तीजन्य पदार्थको प्रयोग हो । चुरोट, बिँडी, खैनी, सुर्ती तथा अन्य तम्बाखुजन्य पदार्थको नियमित सेवनले फोक्सोको कार्यक्षमता घटाउनुका साथै दीर्घकालीन अवरोधात्मक फोक्सो रोग, फोक्सोको क्यान्सर तथा मुटुरोगको जोखिम बढाउँछ ।
विज्ञप्तिमा भनिएको छ, ‘नेपालमा अझै पनि उल्लेख्य प्रतिशत वयस्क जनसङ्ख्या कुनै न कुनै रूपमा तम्बाखुजन्य पदार्थ प्रयोग गर्छन् । परोक्ष धुमपानका कारण घरपरिवारका सदस्य, विशेषगरी महिला र बालबालिका पनि जोखिममा रहेका छन् । ग्रामीण क्षेत्रमा समस्या फरक स्वरूपमा देखिएको छ । दाउरा, गुइँठा तथा जैविक इन्धन प्रयोग गर्दा निस्कने धुवाँले घरभित्रको वायु प्रदूषण बढाउने गर्छ । परम्परागत चुलोमा खाना पकाउँदा महिला तथा बालबालिका प्रत्यक्ष रूपमा धुवाँमा बस्न बाध्य हुने हुँदा दीर्घकालीन खोकी, दम तथा सिओपिडीजस्ता समस्या बढ्ने गरेको छ । यसरी सहरी प्रदूषण र ग्रामीण भित्री धुवाँ दुवैले नेपालमा श्वासप्रश्वास रोगको भार बढाइरहेका छन् ।’
यी सबै तथ्य र चुनौतीहरूलाई मध्यनजर गर्दै स्थापना गरिएको नेशनल चेष्ट सेन्टरले विशेषज्ञ सेवा एउटै छानामुनि उपलब्ध गराउने लक्ष्य लिएको छ । सेन्टरमा वरिष्ठ छाती तथा श्वासप्रश्वास रोग विशेषज्ञ चिकित्सकहरूको टोलीले नियमित परामर्श, परीक्षण तथा उपचार सेवा प्रदान गर्ने विज्ञप्तिमा उल्लेख छ ।