निर्वाचन आयोगमा तीन दलले मात्र बुझाए घोषणापत्र, ४५४ उम्मेदवारले खाता खोले

काठमाडौं । निर्वाचन आयोगमा तीन राजनीतिक दलले मात्र चुनावलक्षित घोषणापत्र बुझाएका छन् । आयोगको कानुन तथा राजनीतिक दल महाशाखा प्रमुख यज्ञप्रसाद भट्टराईले तीन दलले मात्र घोषणापत्र बुझाएको विकासन्युजलाई जानकारी दिए ।

उनका अनुसार आयोगमा घोषणापत्र पेस गर्ने दलमा राष्ट्रिय जनमोर्चा, संयुक्त नागरिक पार्टी र समावेशी समाजवादी पार्टी रहेको छ ।

यही फागुन ३ गतेभित्र आयोगमा चुनावी घोषणापत्र बुझाउन पार्टीलाई निर्देशन दिइएको छ । सोही दिनभित्र हरेक उमेदवारलाई जिल्ला निर्वाचन कार्यालयमा घोषणापत्र बुझाउन भनिएको छ ।

निर्वाचन आचारसंहितामा घोषणापत्र बुझाउनुपर्ने व्यवस्था छ ।

त्यसैगरी, ४ वटा दलले मात्र निर्वाचन प्रयोजनका लागि खाता खोलेका छन् । नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नेकपा संयुक्त र राष्ट्रिय जनमोर्चाले मात्र खाता खोलेका छन्।

४५४ उम्मेदवारले मात्र बैंक खाता खोलेको जानकारी आएको भट्टराईले बताए । प्रत्यक्षतर्फ ३ हजार ४०६ उम्मेदवार छन् । 

यसैगरी, आयोगले उम्मेदवारहरूलाई घोषणापत्र सार्वजनिक गरी एक प्रति सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा पेस गर्न निर्देशन दिएको हो । प्रत्यक्षतर्फ ६४ दल र स्वतन्त्र गरी तीन  हजार ४०६ उम्मेदवार प्रतिस्पर्धामा छन् ।

Share News