काठमाडौं । जिल्ला प्रशासन कार्यालय, झापाले राजनीतिक दल या उम्मेदवारलाई जुलुस तथा घरदैलो नगर्न निर्देशन दिएको छ ।
फागुन ३ गतेसम्म कुनै राजनीतिक दल, उम्मेदवार, दलको भातृ संगठन तथा सम्बन्धित व्यक्तिले जुलुस तथा आमसभा गर्न नपाउने भएका हुन् ।
निर्वाचन आचार संहिता, २०८२ को दफा १३ को उपदफा (१) को खण्ड (म) मा भएको व्यवस्था बमोजिम कुनै राजनीतिक दल, उम्मेदवारलाई जुलुस, आमसभा वा कोणसभा गर्न पाउने छैनन् ।
त्यसैगरी, सञ्चारमाध्यममा कुनै प्रकारको प्रचारप्रसार सामग्री प्रकाशन वा प्रसारण गर्न पाउने छैनन् । निर्वाचन प्रचारप्रसारको लागि घरदैलो कार्यक्रम गर्नसमेत नपाउने भएका हुन् ।
राजनीतिक दल र उम्मदेवारलाई आचारसंहिता पालना गर्नका लागि पटकपटक छलफल, अन्तरक्रिया र सूचना प्रकाशन गरी जानकारी गराइसकिएको सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईंले बताए ।
‘कोणसभा गर्ने, प्रचार प्रसार सामग्री प्रकाशन प्रसारण गर्ने र घर दैलो कार्यक्रम गरी मतदातालाई प्रभाव पार्ने काम गरिरहेको भन्ने जानकारी प्राप्त भएको हुँदा यस प्रकारका कार्य नगर्नरनगराउन हुन पुनः अनुरोध गरिएको छ,’ उनले भने, यदि कोही कसैबाट आचारसंहिताको उल्लंघन गरी कुनै पनि तरिकाले प्रचार प्रसार गरेको प्रमाण प्राप्त भएमा प्रचलित कानुन बमोजिम तत्काल कारवाही प्रक्रिया अघि बढाइने छ ।’
