असहज अवस्थामा संयमित निर्णय लिन २५ कांग्रेस नेताको अपिल

काठमाडौं । नेपाली कांग्रेसका २५ भाइ नेताहरूले पार्टी असहज अवस्थामा रहेकोले नेताहरूलाई संयमित हुन आग्रह गरेका छन् । पार्टी असहज अवस्थामा रहेकोले अहिले देखिएका दुवै पक्षले विवेक नगुमाई निर्णय लिन नेताहरूले दुवै पक्षलाई अनुरोध गरेका हुन् ।

पार्टीका केन्द्रीय सदस्यहरू राजेन्द्र केसी, भरतकुमार शाह, अर्जुनप्रसाद जोशी, पुष्पा भुसाल, कर्णबहादुर बुढा, गणेश लामा, आङगेलु शेर्पा, डिला संग्रौला, उदयशम्शेर राणा, नानु बास्तोला, धना खतिवडा, अब्दुल रज्जाक, देवेन्द्रराज कँडेल, योगेन्द्र चौधरी, गोपाल दहित, बहादुर सिंह लामा, दिलमान पाख्रिन, अब्दुल सत्तार, मोहन आचार्य, अमृत अर्याल, जिपछिरिङ लामा, रामजनम चौधरी, चम्पादेवी खड्का, नारायणबहादुर कार्की, चीनकाजी श्रेष्ठलगायतका नेताहरूले दुवै पक्षका नेताहरूलाई उक्त आग्रह गरेका हुन् ।

पहिले आफूहरू चुनावअघि महाधिवेशनका पक्षमा उभिएपनि अहिले त्ये अवस्था नरहेकोले फागुन २१ गते सम्पन्न हुन गइरहेको प्रतिनिधि सभाको निर्वाचनलाई मध्यनजर गर्दै नेताहरूलाई मध्यमार्गी वाटो अपनाउन आग्रह गरेको नेता केसीले जानकारी दिए ।

अर्का नेता आङ्गेलु शेर्पाले नेपाली कांग्रेसलाई जनतामाझ अझै विश्वसनीय, जिम्मेवार र भरोसालाग्दो राजनीतिक शक्तिका रूपमा स्थापित गर्नु आजको अपरिहार्य आवश्यकता भएको आफुहरुको निष्कर्ष रहेको बताए । 

उनले भने, ‘यसका लागि पार्टीले समयअनुकूल परिवर्तन र रूपान्तरणका मुद्दालाई आत्मसात गर्दै नयाँ सोच, स्पष्ट दृष्टिकोण र ऊर्जा सहित निर्वाचनमा होमिनु आवश्यक देखिन्छ ।’

नेता केसीका अनुसार नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशनको माग गर्दै लिखित निवेदन दर्ता गरिसकेको अवस्थामा उक्त माग पनि सम्वोधन हुने र नेतृत्व पनि परिवर्तन नहुनेगरी अगाडि बढ्न आवश्यक रहेको बताउँछन् ।  

उनले भने, ‘यसलाई पार्टीभित्रको असन्तुष्टि वा विवादका रूपमा मात्र होइन, संगठन सुदृढीकरण र लोकतान्त्रिक अभ्यासको स्वाभाविक अभिव्यक्तिका रूपमा बुझिनुपर्छ ।’
 

Share News