काठमाडौं । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिका (एनआरएनए एनसीसी अमेरिका)ले आफ्नो नाम, लोगो र आधिकारिक पहिचानको दुरुपयोग गर्दै केही व्यक्ति वा समूहले अनधिकृत गतिविधि सञ्चालन गरिरहेको प्रति कडा आपत्ति जनाएको छ ।
एनआरएनए एनसीसी अमेरिकाले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा संघ अमेरिका भित्र कानुनी रूपमा दर्ता भएको एक मात्र आधिकारिक गैरआवासीय नेपाली संस्था भएको स्पष्ट गर्दै संघको नाम र पहिचान प्रयोग गरी गरिने कुनै पनि कार्यक्रम, भ्रमण वा गतिविधि गैरकानुनी हुने जनाएको छ ।
यस्ता अनधिकृत गतिविधिले संस्थालाई मात्र नभई आर्थिक, कानुनी तथा प्रतिष्ठासम्बन्धी गम्भीर जोखिम उत्पन्न गर्ने विज्ञप्तिमा उल्लेख छ ।
संघका अनुसार पछिल्लो समय विभिन्न स्थानमा संघको आधिकारिक स्वीकृति विना कार्यक्रम आयोजना गरिएको, भ्रमणको निम्तो दिइएको तथा वेबसाइट र प्रचार सामग्रीमा संघको नाम दुरुपयोग गरिएको सूचना प्राप्त भएको छ । यसप्रति गम्भीर असहमति जनाउँदै संघले यस्ता गतिविधि तत्काल रोक्न चेतावनी दिएको छ ।
विज्ञप्तिमा नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री बब्लु गुप्तालाई अमेरिका भ्रमणका लागि गैरआवासीय नेपाली संघ, अमेरिकाले कुनै औपचारिक निमन्त्रणा नदिएको स्पष्ट पारिएको छ । मन्त्री गुप्ताको नाम जोडेर प्रचार गरिएका कार्यक्रम वा भेटघाटसँग संघको कुनै सम्बन्ध नरहेको पनि संघले जनाएको छ ।
त्यसैगरी, संघले हालसम्म अमेरिकामा कुनै पनि युवा तथा खेलकुदसम्बन्धी कार्यक्रम आयोजना नगरेको जानकारी सार्वजनिक गर्दै यस्ता विषयमा फैलाइएका प्रचारप्रति भ्रममा नपर्न सबैलाई आग्रह गरेको छ ।
