७ दिनमै इथेरियमको दबदबा, बिटकोइन किन सुस्त देखियो ?

काठमाडौं । क्रिप्टोकरेन्सी बजारमा पछिल्लो साता उल्लेखनीय उतार–चढाव देखिएको छ । विश्वका दुई प्रमुख डिजिटल मुद्राहरू बिटकोइन र इथेरियमबीचको प्रदर्शनमा स्पष्ट अन्तर देखिँदा इथेरियमले बिटकोइनलाई पछाडि पारेको छ ।

पछिल्लो ७ दिनको रिटर्न विश्लेषण गर्दा बिटकोइनको वृद्धिदर सीमित देखिएको छ भने इथेरियमले तुलनात्मक रूपमा राम्रो उछाल देखाएको छ । शुक्रबार बिटकोइन करिब ९० हजार ९८६ अमेरिकी डलर आसपासमा कारोबार भइरहेको छ । यसको विपरीत इथेरियम भने ३ हजार ११४ डलर आसपास कारोबार हुँदैछ ।

एक महिनाको अवधिमा भने दुवै क्रिप्टोकरेन्सी घाटामा नै रहेका छन् । तर यहाँ पनि इथेरियमको प्रदर्शन बिटकोइनभन्दा केही राम्रो देखिन्छ । तथ्यांकअनुसार एक महिनामा बिटकोइनको मूल्य घट्दो रहँदा इथेरियममा आएको गिरावट तुलनात्मक रूपमा कम रहेको छ । यसले अल्पकालीन लगानीकर्तालाई इथेरियमप्रति आकर्षित गरेको विश्लेषकहरू बताउँछन् ।

यसैबीच, क्रिप्टो लगानीसम्बन्धी उत्पादनहरूमा लगातार दोस्रो हप्ता पनि पूँजी प्रवाह कायम रहेको छ । बजारमा सयौं मिलियन डलर बराबरको नयाँ लगानी प्रवेश हुनु सकारात्मक संकेतका रूपमा हेरिएको छ ।

विशेषगरी इथेरियमतर्फ ठूला लगानीकर्ता (ह्वेल)हरूको चासो बढ्दो देखिएको छ । पछिल्ला दिनमा ठूलो परिमाणमा ‘लङ पोजिसन’  खोलिनुले आगामी दिनमा इथेरियममा थप उतार–चढावसहित तेजी आउने सम्भावना रहेको संकेत गरेको छ । प्राविधिक विश्लेषणअनुसार इथेरियमका लागि ३ हजार २ सय डलर आसपास प्रतिरोध स्तर र ३ हजार डलर बलियो समर्थन स्तर मानिएको छ ।

क्रिप्टोकरेन्सीको विश्वव्यापी बजार पूँजीकरण ३.२ ट्रिलियन डलर आसपास कायम रहेको छ । यद्यपि फियर एन्ड ग्रीड इन्डेक्समा भने अघिल्लो दिनको तुलनामा केही सुधार देखिएको छ, जसले बजारमा अत्यधिक डरको अवस्था क्रमशः कम हुँदै गएको संकेत गर्छ ।

विश्लेषकहरूका अनुसार बजार अझै अस्थिर अवस्थामा रहेकाले लगानीकर्ताले जोखिम व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने आवश्यकता छ ।

Share News