काठमाडौं । नेपाल बैंक लिमिटेडले सिस्टम अपग्रेडेसनका कारण आफ्ना सम्पूर्ण बैंकिङ सेवा केही समयका लागि बन्द हुने जनाएको छ । बैंकले जारी गरेको सूचनाअनुसार शुक्रबारदेखि शनिबारसम्म सिस्टम अपग्रेडेसनको कार्य गरिने भएको हो ।
बैंकका अनुसार शुक्रबार राति ११ बजेदेखि सिस्टम अपग्रेडेसनको काम सुरु हुनेछ । उक्त कार्य शनिबार बिहान ९:४५ बजे सम्पन्न हुने बैंकले जनाएको छ । यस अवधिमा नेपाल बैंकका सम्पूर्ण बैंकिङ सेवाहरू उपलब्ध हुने छैनन् ।
बैंकले सिस्टम अपग्रेडेसनका क्रममा ग्राहकहरूलाई पर्न सक्ने असुविधाप्रति क्षमा याचना गर्दै आवश्यक कारोबार समयमै व्यवस्थापन गर्न आग्रह गरेको छ ।
नेपाल बैंकले सेवा गुणस्तर सुधार तथा सुरक्षित र प्रभावकारी बैंकिङ प्रणाली सञ्चालनका लागि समय–समयमा प्रणाली स्तरोन्नति गर्दै आएको जनाएको छ ।