काठमाडौं । नेपाल राष्ट्र बैंकले पुराना सवारी साधन लिलामीमा बिक्री गर्ने भएको छ । राष्ट्र बैंकले विभिन्न कम्पनीका ४ वटा पुराना सवारी साधन बिक्री गर्न लागेको हो ।
राष्ट्र बैंकको सम्पत्ति तथा सेवा व्यवस्थापन विभागले सन् २०१२ मा बनेको बा ९ च ७३७८ नम्बरको चेभ्रोलेट टाभेरा ७ लाख २९ हजार रुपैयाँमा बिक्रीमा राखेको छ ।
यस्तै, सन् २०१४ मा बनेका किया स्पोर्टेजका ३ वटा कार बिक्रीमा राखेको छ । विभागका अनुसार बा १२ च ८२७५ नम्बरको कारको मूल्य ११ लाख ९२ हजार रुपैयाँ, बा १३ च २०९९ नम्बरको कारको मूल्य २१ लाख १९ हजार रुपैयाँ र बा १३ च २१०० नम्बरको कारको मूल्य २३ लाख १६ हजार रुपैयाँ तोकिएको छ ।
यी सवारी साधन जे जस्तो अवस्थामा छन् सोही अवस्थामा बिक्री गरिने राष्ट्र बैंकले जनाएको छ । खरिद गर्न इच्छुकले माघ ११ गतेभित्र बोलपत्र पेस गर्नुपर्नेछ । राष्ट्र बैंकको सम्पत्ति तथा सेवा व्यवस्थापन विभागमा माघ १२ गते बोलपत्र खोलिनेछन् । खरिदका लागि बोलपत्र पेस गर्दा कबोल रकमको ५ प्रतिशत रकम अग्रिम भुक्तानी गर्नुपर्नेछ ।