नाडाको नयाँ नेतृत्व चयन प्रक्रियामा उच्च अदालतको ब्रेक, निर्वाचन कार्यक्रम स्थगित

काठमाडौं । उच्च अदालत पाटनले नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) को नयाँ कार्यसमिति चयन प्रक्रिया तत्काल अगाडि नबढाउन आदेश दिएको छ । अदालतको आदेशसँगै नाडाको शुक्रबारका लागि तय निर्वाचन कार्यक्रम यथास्थितिमा राखिएको छ ।

न्यायाधीश टंकप्रसाद गुरुङ र तेजेन्द्रप्रसाद शर्मा सापकोटाको संयुक्त इजलासले बिहीबार (आज) नाडाको नयाँ नेतृत्व चयन प्रक्रिया रोक्न आदेश दिएको हो  । अदालतले निर्वाचनसँग सम्बन्धित सम्पूर्ण गतिविधि हाललाई स्थगित गर्न निर्देशन दिएको हो ।

अदालतले नाडासँग पुस ९ गते सम्पन्न साधारण सभामा अपनाइएका सम्पूर्ण प्रक्रिया तथा निर्वाचनसम्बन्धी कागजात समेत झिकाउन आदेश दिएको छ । साथै लिखित जवाफ परेपछि वा तोकिएको अवधि नाघेपछि उत्प्रेषणको रिटसमेत राखी नियमानुसार पेस गर्न निर्देशन दिएको छ ।

नाडाले पुस ९ गते साधारण सभा सम्पन्न गरी पुस १० गते निर्वाचन तालिका सार्वजनिक गरेको थियो । तालिकाअनुसार पुस १७ गते उम्मेदवारी दर्ता भएको थियो । २५ सदस्यीय कार्यसमितिका लागि २५ जनाले नै उम्मेदवारी दर्ता गराएपछि सम्पूर्ण पदाधिकारी निर्विरोध भएका थिए ।

अध्यक्ष पदमा निवर्तमान महासचिव सुरेन्द्र उप्रेतीको मात्र उम्मेदवारी परेको थियो । अन्य पदाधिकारी र सदस्य पनि निर्विरोध भएपछि नाडाले शुक्रबार निर्वाचनमार्फत नयाँ कार्यसमिति निर्वाचित भएको घोषणा गर्ने तयारी गरेको थियो ।

तर निर्वाचन तालिकाविनै पुस ९ गते साधारण सभा गरिएको भन्दै प्रक्रिया रोक्न माग गर्दै नाडा कार्यसमितिका तत्कालीन सदस्य आकाश गोल्छा पुस ६ गते उच्च अदालत पुगेका थिए । गोल्छाको रिट निवेदनपछि अदालतले साधारण सभा र निर्वाचन प्रक्रियामा अपनाइएका कागजात माग गर्दै निर्वाचन प्रक्रिया यथास्थितिमा राख्न आदेश दिएको हो ।

यससँगै नाडामा नयाँ नेतृत्व चयन प्रक्रिया अनिश्चित बनेको छ ।

Share News