काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले देशको सडक सुरक्षा र सवारी व्यवस्थापनमा मेकानिकल इन्जिनियरिङ र चालक शिक्षाको भूमिका अपरिहार्य रहेको बताएका छन् ।
बिहीबार नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले थापाथली क्याम्पसमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै प्रमुख अधिकारीले स्वदेशी सवारी उत्पादनसँगै सवारी चलाउने व्यक्तिको प्राविधिक ज्ञान र शिक्षाको पाटोमा पनि उत्तिकै ध्यान दिनुुपर्नेमा जोड दिए ।
अधिकारीले भने, ‘हामी करोडौंका गाडीका कुरा गर्छौं । तर त्यो चलाउने मान्छेलाई गाडीको भित्री मेकानिजम र गतिको बारेमा कत्तिको ज्ञान छ भन्ने कुरामा बहस हुँदैन ।’
उनले रोड इन्जिनियरिङ र मेकानिकल इन्जिनियरिङबीच तालमेल नहुँदा दुर्घटना बढेको बताए । नेपालको भूगोल पहाड, अफ–रोड र सिटी रोड अनुसार सवारी साधनको इन्डिजेनाइजेसन (स्वदेशीकरण) हुनुपर्ने उनको तर्क थियो ।
प्रमुख अधिकारीले नेपालको सवारी चालक अनुमति पत्र (लाइसेन्स) दिने प्रक्रियामा पनि सुधारको आवश्यकता औंल्याए ।
‘आठ अंक (८) मा सानो गाडी चलाएर लाइसेन्स लिने तर सडकमा पल्सर वा ठूला गाडी कुदाउने प्रवृत्तिले जोखिम बढाएको छ,’ उनले भने।
सवारी साधनको गति नियन्त्रणका लागि म्यानुफ्याक्चरिङकै तहबाट सोच्नुपर्ने र नेपालका सडकको अवस्था हेरेर स्पिड लिमिट तोकिनुपर्ने उनले बताए ।
नेपाल अटो इन्डस्ट्रिज म्यानुफ्याक्चरिङ एसोसिएसनसँगको सहकार्यमा अब ट्राफिक प्रहरीहरूलाई नयाँ सवारीसाधनहरूको प्रविधि र मेकानिजमबारे वर्क ओरिएन्टेसन दिइने भएको छ ।
यसले सडकमा खटिने प्रहरीलाई सवारी साधनको प्राविधिक पक्ष बुझ्न र दुर्घटना न्यूनीकरण गर्न सहज हुने विश्वास लिइएको छ ।
कार्यक्रममा नाइमाकी बोर्ड सदस्य तथा साइमेक्स इन्ककी महाप्रबन्धक यमुना श्रेष्ठले इन्जिनियरिङ पढ्ने विद्यार्थीहरूको विदेश पलायन रोक्न नेपालमै नयाँ आविष्कार र उत्पादनको वातावरण बनाउनुपर्ने बताइन् ।
‘हामीले ब्याट्री वा मोटर आयात गरे पनि सफ्टवेयर, एआई र एसेम्बलीमा आफ्नै इन्जिनियरिङ प्रयोग गर्न सक्छौं, जसले देशलाई औद्योगिकीकरणतर्फ लैजान्छ,’ श्रेष्ठले भनिन् ।
यस्तै, नाइमाका कार्यकारी निर्देशक राजकुमार दुलालले आगामी पुस २६ गतेदेखि माघ ८ गतेसम्म ट्राफिक सप्ताह आयोजना हुन लागेको जानकारी दिँदै नाइमाले तयार पारेका सचेतनामूलक भिडियोहरू नाइमाको पेजमार्फत प्रचार गरिने बताए ।
कार्यक्रममा अन्य वक्ताहरूले सरकारले स्थिर नीति र नियम बनाएमा नेपालमै गाडी उत्पादन गर्ने सपना टाढा नरहेको र यसले देशको अर्थतन्त्रमा ठूलो टेवा पुग्ने निष्कर्ष निकालेका थिए ।
थापाथली क्याम्पसका विद्यार्थी, इन्जिनियरहरू र सरोकारवालाहरूको उपस्थिति थियो ।