काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई लक्षित गर्दै आयोजक समूहले काठमाडौंमा व्यापक तयारी अघि बढाएको दाबी गरेको छ । आयोजकका अनुसार देशभरबाट आउने प्रतिनिधिका लागि राजधानीका विभिन्न क्षेत्रमा ठूलो संख्यामा होटल कक्ष बुकिङ गरिएको छ । ठमेल, नक्साल, सुन्धारा तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपासका होटलहरूमा करिब ३ हजार महाधिवेशन प्रतिनिधिका लागि १ हजार ५ सय कोठा बुक गरिएको नेता मनोजमणि आचार्यले जानकारी दिए ।
विशेष महाधिवेशन प्रतिनिधिका लागि आवास तथा खानपान व्यवस्थापन समितिका प्रमुख रमेश धमलाले क्षेत्रगत आधारमा बसोबासको संयोजन मिलाउने तयारी गरिएको जानकारी दिएका छन् । धमलाका अनुसार प्रत्येक निर्वाचन क्षेत्रलाई केन्द्रमा राखेर प्रतिनिधिहरूको व्यवस्थापन गरिनेछ । आवास, खाना र आवतजावतमा सहजता होस् भन्ने उद्देश्यले क्षेत्रगत संयोजनको मोडालिटी बनाइएको उनले बताए ।
महिला प्रतिनिधि, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका प्रतिनिधिका लागि छुट्टै प्राथमिकता दिइने आयोजक पक्षको भनाइ छ । आवश्यक परे स्वास्थ्य तथा सहयोगी सेवासमेत उपलब्ध गराउने तयारी गरिएको समितिले जनाएको छ । काठमाडौंमै स्थायी बसोबास भएका वा आफन्तको घरमा बस्न सक्ने प्रतिनिधिलाई त्यहीअनुसार समन्वय गर्न आग्रह गरिएको आचार्यले बताए ।
आयोजक समूहले प्रत्येक निर्वाचन क्षेत्रका लागि राजनीतिक फोकल पर्सन तोक्ने तयारीसमेत अघि बढाएको छ । फोकल पर्सनमार्फत प्रतिनिधिको आवागमन, बसोबास तथा सम्पर्क व्यवस्थापन सहज बनाउने लक्ष्य राखिएको नेता आचार्यले जनाए ।
कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले यही पुस २७ र २८ गते काठमाडौंमा विशेष महाधिवेशन आयोजना हुने जनाउँदै प्रतिनिधिहरूलाई सक्रिय सहभागिताका लागि आह्वान गरेका छन् । उनीहरूले पार्टीभित्र देखिएका विवाद, संगठनात्मक जटिलता तथा भावी राजनीतिक दिशाबारे खुला बहस आवश्यक रहेको तर्क गर्दै आएका छन् ।
तर संस्थापन पक्षले भने विशेष महाधिवेशनको औचित्य समाप्त भइसकेको दाबी गर्दै आएको छ । विधान र प्रक्रिया अनुसार अघि बढ्नुपर्ने धारणा राख्दै संस्थापन पक्षले विशेष महाधिवेशन आवश्यक नरहेको जिकिर गरेपछि कांग्रेसभित्रको आन्तरिक विवाद थप चर्किएको छ ।