काठमाडौं । टेक उद्योगको मूल्याङ्कनमा ठूलो फेरबदल देखिएको छ । गुगलको मूल कम्पनी अल्फाबेट इंक ७ वर्षपछि पहिलोपटक आईफोन निर्माता एप्पललाई उछिन्दै विश्वकै दोस्रो सबैभन्दा मूल्यवान कम्पनी बनेको छ ।
सन् २०१९ पछि पहिलो पटक अल्फाबेटले एप्पललाई पछि पारेको हो । हाल अल्फाबेटको बजार पूँजीकरण ३.८९२ ट्रिलियन डलर पुगेको छ भने एप्पलको मूल्य ३.८६३ ट्रिलियन डलरमा झरेको छ । यसअघि झैं एनभीडीया भने ४.६०४ ट्रिलियन डलरको बजार मूल्यसहित पहिलो स्थानमै कायम छ ।
बुधबार अल्फाबेटको सेयर २.५१ प्रतिशतले बढेर ३२२.४३ डलरमा बन्द भयो । पछिल्लो एक वर्षमा यस सेयरले ६४.७३ प्रतिशत प्रतिफल दिएको छ । उता एप्पलको सेयर भने ०.७७ प्रतिशतले घटेर २६०.३३ डलरमा बन्द भयो, जसले पछिल्लो एक वर्षमा मात्र ७.४९ प्रतिशत वृद्धि देखाएको छ । पहिलो स्थानमा रहेको एनभीडीयाको सेयर मूल्य भने एक वर्षमा २५.३२ प्रतिशतले बढेको छ ।
अल्फाबेटको बजार मूल्यमा आएको तीव्र उछालको प्रमुख कारण यसको जनरेटिभ एआई प्लेटफर्म ‘जेमिनी’ को बढ्दो प्रयोग हो । यसका साथै अल्फाबेटअन्तर्गत रहेको वेइमो पनि महत्त्वपूर्ण कारण बनेको छ, जुन अमेरिकाको रोबोट्याक्सी बजारको प्रमुख खेलाडी मानिन्छ । वेइमोले फिनिक्स, सान फ्रान्सिस्को बे एरिया, लस एन्जलस, अटलान्टा र अस्टिनजस्ता सहरहरूमा आम सर्वसाधारणका लागि व्यावसायिक रोबोट्याक्सी सेवा सञ्चालन गरिरहेको छ ।
सुन्दर पिचाई अल्फाबेटका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन्। भारतबाट इन्जिनियरिङ अध्ययन पूरा गरेपछि उनले अमेरिकाको स्ट्यानफोर्ड विश्वविद्यालयबाट उच्च शिक्षा हासिल गरेका थिए । सामग्री इन्जिनियरका रूपमा करिअर सुरु गरेका पिचाई सन् २००४ मा व्यवस्थापन कार्यकारीका रूपमा गुगलमा आबद्ध भए । सन् २०१५ मा गुगलका सह–संस्थापक ल्यारी पेजले उनलाई गुगलको सीईओ नियुक्त गरे भने सन् २०१९ मा उनी अल्फाबेटका सीईओ बने ।