नाडा र नाडा उपाध्यक्ष राजनबाबु श्रेष्ठ राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानबाट सम्मानित

काठमाडौं । अटोमोबाइल क्षेत्रको सीप विकास, व्यावसायिक तालिम पाठ्यक्रम निर्माण तथा मानव संसाधन विकासमा उल्लेखनीय योगदान पुर्याएको भन्दै नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपाल (नाडा) सम्मानित भएको छ ।

नेपाल सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान तथा राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान विकास समितिले नाडालाई सम्मान–पत्र प्रदान गरेको हो ।

यसै क्रममा, अटोमोबाइल क्षेत्रमा आधारित व्यावसायिक तालिम पाठ्यक्रम निर्माण तथा कार्यान्वयन प्रक्रियामा संयोजकको हैसियतमा प्रभावकारी, प्रशंसनीय र नेतृत्वदायी भूमिका निर्वाह गरेको योगदानको कदर गर्दै नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठलाई प्रशंसा–पत्र प्रदान गरिएको छ ।

उक्त सम्मान तथा प्रशंसा–पत्र राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानको वार्षिकोत्सवको अवसरमा प्रदान गरिएको हो । प्रमाण–पत्रमा नाडाको सहकार्यमा अटोमोबाइल क्षेत्रमा श्रम बजारको मागअनुसार तयार गरिएका ट्रेड–आधारित सीपमूलक तालिम पाठ्यक्रम—विशेषगरी एसेम्बलर अपरेटर तथा विद्युतीय सवारी मर्मत प्राविधिकजस्ता कार्यक्रमहरूले दक्ष जनशक्ति उत्पादनमा महत्वपूर्ण योगदान पुर्याएको उल्लेख गरिएको छ ।

नाडाले आगामी दिनमा पनि सरकार तथा सम्बन्धित निकायहरूसँग सहकार्य गर्दै अटोमोबाइल क्षेत्रको सीप विकास, रोजगारी सिर्जना तथा प्राविधिक जनशक्ति उत्पादनमा अझ सशक्त भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएको छ ।

Share News