शिखर पावर डेभलपमेन्टले माघ ६ गतेदेखि आईपीओ बिक्री गर्ने

काठमाडौं । शिखर पावर डेभलपमेन्टले माघ ६ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ बिक्री गर्न लागेको हो ।

कम्पनीले जारी पुँजी ९८ करोड रुपैयाँको ३२.६५ प्रतिशत अर्थात् ३२ करोड रुपैयाँकाे १ सय रुपैयाँ अंकित मूल्य दरका ३२ लाख कित्ता सेयर बिक्री गर्न अनुमति पाएको छ । जसमध्ये १० प्रतिशत अर्थात् ९ करोड ८० लाख रुपैयाँको ९ लाख ८० हजार कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई बिक्री गरिनेछ ।

स्थानीयलाई छुट्याएको सेयरमा बागलुङको बडिगाड गाउँपालिकाको वडा नं. १ देखि १० सम्मका वडावासी र विद्युत प्रसारण लाइनबाट प्रभावित क्षेत्र बागलुङको ढोरपाटन नगरपालिका वडा नं. २ का स्थानीय बासिन्दाहरूले आवेदन दिन सक्नेछन् ।

यस्तै, सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको सेयरको १० प्रतिशत अर्थात् २ करोड २२ लाख रुपैयाँको २ लाख २२ हजार कित्ता सेयर विदेशमा रोजगार गरी रहेका नेपालीहरूले आवेदन दिन पाउनेछन् । 

कम्पनीको आईपीओमा लगानीकर्ताहरुले न्यूनतम् १० कित्तादेखि अधिकतम १० हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा स्थानीय बासिन्दाले माघ २० गतेसम्म आवेदन दिन सक्नेछन् । यदि उक्त अवधिमा पूर्ण आवेदन नपरेमा फागुन ८ गतेसम्म आवेदन दिन समय लम्बिनेछ । यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले छिटोमा माघ ९ गते र ढिलोमा माघ २० गतेसम्म आवेदन दिन सक्नेछन् । 

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ । स्थानीय बासिन्दाले बिक्री प्रबन्धकका साथै ग्लोबल आइएमई बैंकको बुर्तिवाङ र बागलुङ बजार शाखा कार्यालय, प्रभु बैंकको बडिगाड शाखा, गरिमा विकास बैंकको बुर्तिवाङ शाखा र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको बुर्तिवाङ शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपमार्फत आवेदन दिन सक्नेछन् ।

Share News