उज्यालो नेपालको सपना बोकेर मैदानमा उत्रिने घिसिङको घोषणा

काठमाडौं । नेपाली ऊर्जा क्षेत्रमा लोडसेडिङ अन्त्यको पर्याय बनेका कुलमान घिसिङ अब पूर्णकालीन राजनीतिको मैदानमा उत्रने भएका छन् । मन्त्री पदबाट राजीनामा दिँदै घिसिङले आफ्नो आगामी यात्रा उज्यालो नेपाल निर्माणका लागि राजनीतिक नेतृत्वमै केन्द्रित हुने स्पष्ट पारेका हुन् । बुधबार साँझ प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर उनले आफ्नो राजीनामा पत्र बुझाएका छन् । प्रधानमन्त्रीसहितको विशेष आग्रह र मुलुकको वर्तमान परिस्थितिमा राजनीतिक हस्तक्षेपको आवश्यकता महसुस गर्दै उनले यो कदम चालेको बताइएको छ ।


राजीनामा दिएलगत्तै सञ्चारकर्मीहरूसँग कुरा गर्दै घिसिङले भोलिदेखि नै आफू पूर्ण रूपमा राजनीतिमा सक्रिय हुने बताए । उनले भने, ‘म पदबाट बाहिरिएको छु, तर जनताको पक्ष, राष्ट्रको हित र सत्यको बाटोबाट कहिल्यै बाहिरिने छैन । उज्यालो नेपाल बनाउन सशक्त रूपमा अबको मेरो बाटो राजनीतिक यात्रा नै हुनेछ ।’

यसअघि मन्त्रालयको कार्यबोझका कारण खुला रूपमा राजनीतिमा आउन नसकेको स्वीकार गर्दै उनले अब भने देशको अवस्था परिवर्तन गर्न नीतिगत तहकै नेतृत्वमा पुग्ने लक्ष्य राखेको बताए । पछिल्लो समय घिसिङ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गर्ने र सो पार्टीको उपसभापति बन्ने चर्चाले राजनीतिक वृत्त तातेको छ ।

रास्वपा र उज्यालो नेपाल पार्टीबीच भएको समझदारीमा घिसिङको नाम चर्चामा आए पनि उनले भने यसलाई अझै ठोस रूप दिइनसकेको बताए ।

‘उज्यालो नेपाल र रास्वपाबीचको सहमतिमा मेरो नाम जोडिएको कुरा सत्य भए पनि उक्त समझदारी हालसम्म कार्यान्वयनमा आएको छैन, घिसिङले स्पष्ट पारे, ‘मैले अहिलेसम्म कुनै पनि राजनीतिक पार्टीको आधिकारिक सदस्यता लिएको छैन ।’

देशभित्रका समसामयिक मुद्दा, प्रशासनिक झमेला र वर्तमान राजनीतिक अस्थिरतालाई चिर्नका लागि बाहिर बसेर मात्र सम्भव नभएको घिसिङको निष्कर्ष छ । उनले भने, ‘अहिलेको परिस्थिति र अवस्थालाई परिवर्तन गर्न राजनीतिक नेतृत्वमै जानु आवश्यक छ। त्यसैका लागि आज मन्त्रिपरिषद्बाट राजीनामा दिएर अघि बढेको हुँ । भोलिदेखि मेरो राजनीतिक जीवन थप प्रभावकारी हुनेछ ।’
 

Share News