काठमाडौं । ऊर्जा, जलस्रोत, भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री कुलमान घिसिङले मन्त्री पदबाट राजीनामा दिने औपचारिक घोषणा गर्ने भएका छन्। उनले बुधबार राति ९ बजे सिंहदरबारस्थित मन्त्रालयमा पत्रकार सम्मेलन गरेर राजीनामा सार्वजनिक गर्ने तयारी गरेका हुन् ।
घिसिङका प्रेस संयोजक सचिन गौतमले कुरा गर्दै राजीनामाको तयारी अन्तिम चरणमा पुगेको पुष्टि गरे।
‘उहाँले राजीनामा दिने हुने भयो,’ गौतमले भने, ‘आज राति ९ बजे मन्त्रालयमा पत्रकार सम्मेलन तय भएको छ।’
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता गरेर उपसभापति बनेपछि मन्त्री घिसिङमाथि सरकारमा बसिरहन नहुने भन्दै राजनीतिक तथा नैतिक दबाब तीव्र बनेको थियो। यही दबाबका कारण मन्त्री पदबाट अलग हुने निर्णयमा पुगिएको स्रोतहरूको भनाइ छ।
बुधबार घिसिङले पार्टीका शीर्ष नेताहरू तथा मन्त्रालयका कर्मचारीहरूसँग दिनभर छलफल गरेका थिए। यसक्रममा उज्यालो नेपाल पार्टीका नेताहरूले राजीनामा नदिन सुझाव दिए पनि घिसिङले त्यसलाई अस्वीकार गरेका थिए।
बाहिरबाट निरन्तर राजीनामा माग र प्रश्न उठ्न थालेपछि अब मन्त्री पदमा बस्न उपयुक्त नहुने निष्कर्षमा पुगेको भन्दै घिसिङले आफैं पदबाट अलग हुने निर्णय लिएको बताइएको छ।