काठमाडौं । लुम्बिनी प्यालेस रिसोर्ट लिमिटेडले विश्वप्रसिद्ध होटल चेन म्यारियट इन्टरनेशनलसँग साझेदारी गरी ‘लुम्बिनी म्यारियट रिसोर्ट एन्ड स्पा’ ब्रान्डअन्तर्गत रिसोर्ट सञ्चालन हुने भएको छ ।
दुवै पक्षबीच औपचारिक होटल म्यानेजमेन्ट एग्रिमेन्ट (एचएमए) मा हस्ताक्षर भएसँगै रिसोर्टलाई पाँचतारे स्तरमा स्तरोन्नति गरिने भएको हो ।
रिसोर्ट रुपन्देही जिल्लाको सियारी गाउँपालिका–५ मा सन् २०१८ देखि सञ्चालनमा छ।
काठमाडौं उपत्यकाबाहिर नेपालमा म्यारियट इन्टरनेशनलको यो पहिलो तथा एकमात्र उपस्थिति हो ।
सम्झौता दुवै संस्थाका शीर्ष नेतृत्वको उपस्थितिमा सम्पन्न भएको हो ।
सम्झौतामा लुम्बिनी प्यालेस रिसोर्ट लिमिटेडका तर्फबाट अध्यक्ष दीपक पाण्डे र प्रबन्ध निर्देशक रोशनकुमार न्यौपाने सहभागी थिए भने म्यारियट इन्टरनेशनलका तर्फबाट एशिया प्यासिफिक क्षेत्रका चिफ अपरेसन अफिसर नीरज गोविल, दक्षिण एशिया विकास विभागका वरिष्ठ उपाध्यक्ष किरण एन्डिकट तथा उपाध्यक्ष जुही रोय सहभागी थिए ।
रिसोर्टले चालू आर्थिक वर्षको अन्त्यसम्म पाँचतारे होटल सञ्चालनको इजाजतपत्र प्राप्त गर्ने लक्ष्य लिएको जनाएको छ । ‘लुम्बिनी म्यारियट रिसोर्ट एन्ड स्पा’ अत्याधुनिक प्रविधि र विश्वस्तरीय सेवासुविधासहित नेपालको पहिलो तथा एकमात्र पाँचतारे वाटर रिसोर्टका रूपमा सञ्चालनमा आउनेछ ।
रिसोर्टमा म्युजिकल फाउन्टेन, थ्री डी वाटर स्क्रिन, मोटर बोटिङ, मिनी क्रुज, वाटर रेस्टुरेन्ट तथा वाटर स्पाजस्ता सुविधा समावेश गरिनेछन् । साथै वैश्विक जलवायु चुनौतीलाई ध्यानमा राख्दै परियोजनालाई ग्रीन सर्टिफाइड (गोल्ड) वेलनेस रिट्रिट तथा इको–रिसोर्टका रूपमा विकास गरिएको जनाइएको छ ।
परियोजनाले नेपालमा खेलिने प्रमुख खेलकुदलाई समर्थन गर्ने विश्वस्तरीय पूर्वाधार निर्माण गर्दै रिसोर्टलाई स्पोर्ट्स टुरिज्मको केन्द्रका रूपमा विकास गर्ने लक्ष्य पनि लिएको छ ।
यससँगै रिसोर्टले नेपालको पहिलो अर्गानिक पाँचतारे वेलनेस लक्जरी रिसोर्टका रूपमा नेचुरोथेरापी अभ्यास गर्ने पनि जनाइएको छ ।
रिसोर्ट परिसरमा बुद्ध थिम पार्क निर्माण गरिने बताइएको छ, जसअन्तर्गत मिनी स्तूपा, मिनी बुद्ध संग्रहालय, ध्यान क्षेत्र र सांस्कृतिक केन्द्र समावेश हुनेछन् ।
रिसोर्टलाई अन्तर्राष्ट्रिय सम्मेलन, डेस्टिनेसन विवाह तथा वाटर, इको, वेलनेस, खेलकुद र सांस्कृतिक पर्यटनका लागि प्रमुख गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य लिइएको छ । परियोजनाले पर्यटन प्रवर्द्धनसँगै रोजगारी सिर्जना, स्थानीय उत्पादनको उपयोग र स्थानीय अर्थतन्त्र सुदृढीकरणमा योगदान गर्ने अपेक्षा गरिएको छ ।
यसैबीच, लुम्बिनी प्यालेस रिसोर्टले उक्त परियोजनामा सार्वजनिक लगानी आकर्षित गर्न प्रारम्भिक सार्वजनिक निष्कासन आईपीओको लागि तयारी भइरहेको जानकारी पनि दिएको छ ।