काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार साँझ भेनेजुएलाका अन्तरिम अधिकारीहरूले दक्षिण अमेरिकी देशका नेता निकोलस मादुरोलाई हटाएपछि अमेरिकालाई ३ करोडदेखि ५ करोड ब्यारेलसम्म तेल हस्तान्तरण गर्ने बताएको जनाएका छन् ।
ट्रम्पले सामाजिक सञ्जालमा लेख्दै उक्त तेल बजार मूल्यमा बिक्री गरिने र त्यसबाट प्राप्त रकम संयुक्त राज्य अमेरिकाका राष्ट्रपतिको नियन्त्रणमा रहने जनाएका छन् । उनले उक्त रकम भेनेजुएलाका जनता र अमेरिकाको हितमा प्रयोग हुने पनि दावी गरेका छन् ।
‘मैले ऊर्जा सचिव क्रिस राइटलाई यो योजना तुरुन्त कार्यान्वयन गर्न निर्देशन दिएको छु,’ ट्रम्पले लेखेका छन्, ‘तेल भण्डारण जहाजमार्फत ल्याइनेछ र सिधै अमेरिकाका अनलोडिङ डकमा उतारिनेछ ।’
ट्रम्पले अमेरिकालाई हस्तान्तरण गरिने तेल ‘उच्च गुणस्तरको’ र ‘स्वीकृत (सान्क्सनअनुसार मान्य)’ रहेको बताए।
ट्रम्पको घोषणापछि अमेरिकी कच्चा तेलको फ्युचर्स मूल्य १.३ प्रतिशतले घटेर प्रति ब्यारेल ५६.३९ डलरमा झरेको छ ।
यो घोषणा अमेरिकी सेनाले काराकासमा मादुरो र उनकी पत्नीलाई पक्राउ गरी न्यूयोर्क ल्याएको तीन दिनपछि आएको हो । उनीहरूमाथि संघीय लागुऔषध तस्करी षड्यन्त्रसम्बन्धी अभियोग लगाइएको छ ।
वाल स्ट्रिट जर्नलका अनुसार ट्रम्पले शुक्रबार ह्वाइट हाउसमा शेभरन, कोनोकोफिलिप्स र एक्सन मोबिललगायत प्रमुख अमेरिकी तेल कम्पनीका प्रतिनिधिहरू तथा अन्य स्वदेशी उत्पादकहरूसँग भेट गरी ‘भेनेजुएलाको तेल क्षेत्रमा ठूला लगानी गर्ने’ विषयमा छलफल गर्ने योजना बनाएका छन् ।
ट्रम्पले अमेरिकी तेल कम्पनीहरूले भेनेजुएलाको पुरानो र जीर्ण तेल उत्पादन क्षमताको पुनस्र्थापना गर्न अर्बौं डलर लगानी गर्ने बताएका छन् ।
हाल शेभरन मात्र भेनेजुएलामा सञ्चालनमा रहेको अमेरिकी तेल कम्पनी हो । कोनोकोफिलिप्स र एक्सन मोबिलका सम्पत्तिहरू भने सन् २००० को मध्यतिर तत्कालीन राष्ट्रपति हुगो चाभेजले राष्ट्रियकरण गरेका थिए ।
मादुरो र उनकी पत्नी सिलिया फ्लोरेसले सोमबार म्यानह्याटनस्थित अमेरिकी जिल्ला अदालतमा भएको पेशीका क्रममा आफूहरू दोषी नभएको दाबी गरेका छन् ।
उक्त सुनुवाइका क्रममा मादुरोले न्यायाधीश एल्भिन हेलरस्टाइनसमक्ष आफूलाई ‘अपहरण गरिएको’ र आफू ‘युद्धबन्दी’ भएको बताएका थिए ।