इन्जिनियर मन्त्रीको नेतृत्वले लामो समयदेखि थाँती रहेका पेशागत मुद्दाहरू कार्यान्वयन हुँदैछन् : सचिव शर्मा

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले वर्तमान इन्जिनियरमन्त्रीको  नेतृत्वले लामो समयदेखि थाँती रहेका इन्जिनियरिङ क्षेत्रका पेशागत मुद्दाहरू कार्यान्वयनको प्रक्रियामा प्रवेश गरेको बताएका छन् । 

मन्त्रीसगँ इन्जिनियरका कुरा  अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यो इन्जिनियरहरूका लागि ऐतिहासिक अवसर भएको औंल्याए ।

सचिव शर्माले यसअघि पनि इन्जिनियरका चासोका विषयहरूमा धेरै पटक छलफल भएको र नेपाल इन्जिनियर्स एसोसिएसनले उठाएका थुप्रै विषयमा निरन्तर फलोअप गरी सफलता प्राप्त भएको स्मरण गराए ।

यद्यपि कतिपय मुद्दाहरू भने लामो समयसम्म सम्बोधन हुन नसकेको उनले स्वीकार गरे ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय इन्जिनियरिङ काउन्सिल र इन्जिनियर्स एसोसिएसनको सम्पर्क मन्त्रालयका रूपमा रहेको उल्लेख गर्दै उनले यस मन्त्रालयमा इन्जिनियर मन्त्री पाउनु विरलै हुने घटना भएको बताए । 

‘यो पटक इन्जिनियर मन्त्री पाउनु र उनको कार्यमुखी निर्णय क्षमता तथा फलोअपले इन्जिनियर्स एसोसिएसनका केही सरोकारका विषयले एउटा प्रक्रियामा प्रवेश पाएका छन्,’ उनले भने ।

सचिव शर्माका अनुसार यी मुद्दाहरूको कार्यान्वयनका लागि कतिपय विषय मन्त्रिपरिषद्बाट निर्णय गराउनुपर्ने, कतिपय अन्य मन्त्रालयसँग समन्वय गर्नुपर्ने र केही त ऐन संशोधन नै गर्नुपर्ने अवस्थामा छन् । 

उनले यसका लागि सबै सरोकारवालाहरूबाट निरन्तर फलोअपको आवश्यकतामा जोड दिए ।

Share News