एप्पल ब्रान्ड बेच्ने जेनरेसन नेक्स्टको आम्दानी ५३.७१ प्रतिशत बढ्यो, एक वर्षमै साढे ६ अर्ब रुपैयाँ

काठमाडौं । नेपालमा एप्पल ब्रान्डको एकमात्र आधिकारिक वितरक जेनरेसन नेक्स्ट कम्युनिकेसनले एक वर्षमा साढे ६ अर्ब रुपैयाँ बराबर आम्दानी गरेको छ । जेनरेसन नेक्स्ट कम्युनिकेसनले सन् २०२५ मा ६ अर्ब ५९ करोड ६० लाख रुपैयाँ कुल सञ्चालन आम्दानी गरेको जनाएको छ । यो आम्दानी अघिल्लो वर्षको तुलनामा ५३.७१ प्रतिशत अर्थात् २ अर्ब ३० करोड ५० लाख रुपैयाँ बढी हो । सन् २०२४ मा कम्पनीले ४ अर्ब २९ करोड १० लाख रुपैयाँ कुल सञ्चालन आम्दानी गरेको थियो । 

कम्पनीको आम्दानीलाई आधार मान्ने हो भने नेपाली उपभोक्तामा एप्पल ब्राण्डका सामाग्रीमा आकर्षण बढेको प्रस्ट देखिन्छ । सन् २०१० अगस्टमा स्थापना भएको जेनरेसन नेक्स्ट कम्युनिकेसन नेपालमा एप्पल ब्रान्डको एक मात्रै आधिकारिक वितरक हो भने डेल ब्रान्डका उत्पादनहरूको तीन वटा आधिकारिक वितरकमध्ये एक हो ।

कम्पनीको आम्दानीमा एप्पल ब्रान्डको हिस्सा बढी रहेको जनाएको छ । अघिल्लो वर्ष ५० प्रतिशत रहेको एप्पलबाट हुने आम्दानी सन् २०२५ मा ९७ प्रतिशत पुगेको कम्पनीले दाबी गरेको छ । 

अन्तर्राष्ट्रियस्तरका प्रविधि कम्पनीहरूको आधिकारिक प्रतिनिधित्व गर्दै कम्पनीले नेपाली बजारमा गुणस्तरीय उत्पादन तथा भरपर्दो सेवा प्रदान गर्दै आएको जनाएको छ । कम्पनीले आफ्नै स्वामित्वमा रहेका दुइवटा कार्यालय तथा ग्राहक सेवा केन्द्रहरूमार्फत ग्राहकहरूलाई सामग्रीहरू बिक्री वितरण गर्दै आएको छ । नेपालका प्रमुख शहरहरूमा कम्पनीको बलियो बजार उपस्थिति रहेको छ ।

कम्पनीले सन् २०२० मा ९४ करोड ६० लाख रुपैयाँ, सन् २०२१ मा १ अर्ब ९५ करोड ३० लाख रुपैयाँ, सन् २०२२ मा ३ अर्ब ५७ करोड १० लाख रुपैयाँ, सन् २०२३ मा २ अर्ब २१ करोड ८० लाख रुपैयाँ कुल सञ्चालन आम्दानी गरेको थियो । 

जेनरेसन नेक्स्ट कम्युनिकेसनका प्रमुख सेयरधनी पवन कुमार भीमसरिया हुन् । उनको कम्पनीमा सतप्रतिशत सेयर स्वामित्व रहेको छ । कम्पनीले एक दशक भन्दा बढी समयदेखि  विभिन्न इलेक्ट्रोनिक्स सामग्रीको व्यापार गर्दै आएको छ । जेनरेसन नेक्स्ट कम्युनिकेसन भीमसरिया समूह अन्तर्गतको कम्पनी हो, जसले नेपालमा व्यापार, उत्पादन, घरजग्गा तथा अन्य विविध क्षेत्रमार्फत बलियो उपस्थिति जनाएको छ । 

कम्पनीको नेतृत्व प्रबन्ध निर्देशक पवनकुमार भीमसरियाले गर्दै आएका छन् । उनीसँग बैंकिङ, व्यापार तथा उत्पादन क्षेत्रमा चार दशकभन्दा बढीको अनुभव रहेको छ । उनको रणनीतिक निर्णय र जोखिम व्यवस्थापनले दीर्घकालीन वृद्धि हासिल गर्दै आएको छ । साथै, कम्पनीको सञ्चालक समिति तथा व्यवस्थापन तहमा अनुभवी व्यक्तिहरू छन् । जसले प्रतिस्पर्धात्मक बजारमा आफ्नो व्यवसायलाई निरन्तर रूपमा अगाडि बढाइरहेको छ ।

कम्पनीको आम्दानीमा उछाल आए पनि ब्याज, कर लगायतपछिको मार्जिन भने सामान्य सुधार भएको छ । सन् २०२४ मा ५.०५ प्रतिशत रहेको मार्जिन सन् २०२५ मा ५.५२ प्रतिशत रहेको छ । करपछिको नाफा मार्जिन पनि सुधार भई ३.२३ प्रतिशत पुगेको कम्पनीले जनाएको छ । कम्पनीको कुल नगद सञ्चितिमा पनि उल्लेखनीय वृद्धि भएको छ । सन् २०२४ मा ११ करोड रुपैयाँ रहेको नगद सञ्चिति सन् २०२५ मा २२ करोड २० लाख रुपैयाँ पुगेको छ ।

हाल कम्पनीसँग डेल उत्पादनका लागि १५० भन्दा बढी डिलरहरू रहेका छन् भने एप्पल उत्पादनका लागि ५० भन्दा बढी आधिकारिक पुनः बिक्रेताहरू रहेका छन् । यस्तो व्यापक वितरण सञ्जालले कम्पनीका उत्पादनहरूलाई देशभर सहज रूपमा उपलब्ध गराउन सहयोग पुर्याएको छ ।

बिक्रीपछिको सेवाको गुणस्तर सुनिश्चित गर्न जेनरेसन नेक्स्ट कम्युनिकेसनले काठमाडौं उपत्यकाभित्र दुइवटा आधिकारिक एप्पल सेवा केन्द्र स्थापना गरेको छ । यी सेवा केन्द्रहरूमार्फत कम्पनीले उपभोक्तालाई समयमै, भरपर्दो र गुणस्तरीय बिक्रीपछिको सेवा प्रदान गर्दै आएको छ, जसले कम्पनीप्रति ग्राहकको विश्वास अझ सुदृढ बनाएको छ ।

कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट २ अर्ब ३७ करोड ९० लाख रुपैयाँ ऋण लिएको छ । जसमा १ करोड ९० लाख रुपैयाँ दीर्घकालीन र २ अर्ब ३६ करोड रुपैयाँ अल्पकालीन ऋण रहेको कम्पनीले जनाएको छ । 

Share News