काठमाडौं । नेकपा एमालेका पूर्वकेन्द्रीय सदस्य तथा कपिलवस्तुबाट चारपटक संघीय सांसद निर्वाचित नेता बृजेशकुमार गुप्ताले पार्टी परित्याग गरेका छन् ।
लामो समयदेखि संसदीय राजनीतिमा सक्रिय रहेका गुप्ताले एमालेसँगको सम्बन्ध तोडेको घोषणा गरेका हुन् ।
पार्टीभित्र पछिल्लो समय देखिएको आन्तरिक असहमति, नीति निर्णय प्रक्रियामा बेवास्ता गरेको र क्षेत्रीय तथा राजनीतिक मुद्दामा पार्टी नेतृत्वको भूमिकाप्रति असन्तुष्टि बढ्दै गएपछि पार्टी छाड्ने निर्णयमा पुगेको गुप्ताको निकट स्रोतले जनाएको छ ।
कपिलवस्तु जिल्लामा प्रभावशाली नेताका रूपमा चिनिएका गुप्ता चारपटक संघीय सांसद निर्वाचित हुँदै संसदीय अभ्यासमा अनुभवी नेताका रूपमा स्थापित छन् । उनी एमालेको केन्द्रीय सदस्य रहेका थिए ।
गुप्ताले पार्टी परित्यागपछि आगामी राजनीतिक यात्राबारे भने औपचारिक घोषणा गरेका छैनन् । तर, समसामयिक राजनीतिक परिस्थितिलाई मध्यनजर गर्दै नयाँ विकल्पबारे छलफल भइरहेको बताएका छन् ।