एमाले सचिवालय बैठक सुरु, राष्ट्रिय सभा निर्वाचन र प्रतिनिधि सभा उम्मेदवारबारे छलफल

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक सुरु भएको छ । बैठकमा राष्ट्रिय सभा निर्वाचनलगायत समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको छ ।

पार्टीको केन्द्रीय कार्यालय च्यासलमा जारी बैठकमा राष्ट्रिय सभाका लागि उम्मेदवारी चयन र आवश्यक गठबन्धनको विषयले पनि प्रवेश पाएको एक नेताले बताए ।

राष्ट्रिय सभाका १८ सिटका लागि प्रमुख राजनीतिक दलहरूबीच सहकार्य गरेर निर्वाचन लड्ने सहमति भइसकेको सन्दर्भमा कांग्रेस र माओवादीसँग भएको छलफल तथा सिट बाँडफाँडको अवस्थाबारे अध्यक्ष केपी शर्मा ओलीले सचिवालयलाई जानकारी गराएका छन् । 

पछिल्लो सहमति अनुसार एमालेले ६ सिटमा उम्मेदवारी दिने तयारी गरेको छ । यससँगै प्रतिनिधि सभाका लागि उम्मेदवार सिफारिसको प्रक्रिया र सो क्रममा विभिन्न स्थानमा देखिएका विवादसम्बन्धी विषय पनि सचिवालय बैठकमा उठ्ने सम्भावना रहेको नेताहरूले बताएका छन् ।

अध्यक्ष ओलीको ब्रिफिङपछि बैठक एजेन्डामा केन्द्रित हुने सचिवालयका एक नेताले जानकारी दिए ।

Share News