काठमाडौं । नेपाली बजारमा सुजुकीको भिक्टोरियस सार्वजनिक भएको छ ।
सुजुकी गाडीको आधिकारिक बिक्रेता सीजी मोटोकर्पले आफ्नो अहिलेसम्मकै सबैभन्दा धेरै फिचर भएको भिक्टोरियस सार्वजनिक गरेको हो ।
कम्पनीका अनुसार भिक्टोरियस आधुनिक डिजाइन, नयाँ प्रविधि र उच्च सुरक्षा मापदण्डलाई ध्यानमा राखेर विकास गरिएको हो ।
यसमा १.५ लिटर पेट्रोल इन्जिन दिइएको छ, जसमा माइल्ड–हाइब्रिड र स्ट्रङ हाइब्रिड विकल्प उपलब्ध छन् । यसबाहेक कम्पनीले सीएनजी भेरियन्ट पनि उपलब्ध गराएको छ । गाडीमा म्यानुअल र अटोमेटिक ट्रान्समिसनको विकल्प दिइएको छ ।
सुरक्षाको हिसाबले भिक्टोरियसमा ६ वटा एयरब्याग, एबीएस, ईबीडी, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल लगायतका फिचर समावेश छन् । कम्पनीका अनुसार गाडीले फाइभ स्टार सेफ्टी रेटिङ प्राप्त गरेको छ ।
फिचरका रूपमा भिक्टोरियसमा ठूलो टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, पूर्ण डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, प्यानोरामिक सनरुफ, वायरलेस चार्जिङ, भेन्टिलेटेड सिट र कनेक्टेड कार टेक्नोलोजी दिइएको छ । साथै एडीएएस प्रविधि पनि उच्च भेरियन्टमा उपलब्ध गराइएको छ ।
यसमा एलईडी हेडलाइट र टेललाइट, आकर्षक फ्रन्ट ग्रिल र मस्कुलर एसयूभी लुक दिइएको छ । भित्री भागमा प्रिमियम फिनिस र फराकिलो क्याबिन रहेको कम्पनीले जनाएको छ ।
शक्तिशाली प्रदर्शन र अत्याधुनिक प्रविधिका कारण यस एसयूभीले प्रतिष्ठित भारतीय उत्कृष्ट कार अवार्ड– २०२५’ अवार्ड जित्न सफल भएको छ ।
सीजी मोटोकर्पले यस एसयूभीको सुरुवाती मूल्य ५० लाख ९९ हजार रुपैयाँ तोकेको छ । साथै कम्पनीले लिमिटेड समयका लागि लञ्चिङ अफर पनि सार्वजनिक गरेको छ, जसअनुसार पहिलो ५० बुकिङका लागि अधिकतम २ लाख रुपैयाँसम्मको एक्सचेन्ज बोनससहितको प्रारम्भिक मूल्यमा उपलब्ध हुनेछ ।