काठमाडौं । गत भदौ २३ र २४ घटनासम्बन्धी छानबिन गर्न बनेको जाँचबुझ आयोगले पूर्वगृहमन्त्री रमेश लेखकको स्थानहद फुकुवा गरेको छ । आयोगले बिहीबार स्थानहद फुकुवा गरेको हो । आयोगले उनीसँग सोमबार र बुधबार बयान लिएको थियो ।
पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको स्थानहद भने कायमै छ ।
आयोगले असोज १२ गते पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकसहित उच्च अधिकारीहरूलाई स्थान हद लगाएको थियो । ओलीबाहेक सबैको बयान सकेर आयोगले स्थानहद फुकुवा गरेको हो ।
ओलीले भने आयोगमा बयान नै नदिने बताउँदै आएका छन् ।
आयोगको कानुनी हैसियत र स्वच्छतामा प्रश्न उठाउँदै बयान दिन आयोगमा नजाने पक्षमा आफ्नो भनाइ सार्वजनिक गरिरहेको अवस्थामा आयोगले ओलीलाई बयानका लागि पत्राचार गर्ने भएको छ ।
आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले आज सञ्चारकर्मीको प्रश्नको जवाफमा अब तत्कालीन प्रधानमन्त्री ओलीलाई बयानमा बोलाउन पत्राचार गर्न लागेको बताएका छन्।
आयोगले पत्र पठाए पनि बयान दिन नजाने अडानमा ओली देखिएका छन् । उनी बयान दिन नगए आयोग गुण्डुमै बयान लिन जानेसम्मको तयारी रहेको जनाइएको छ ।