स्टार्टअप ‘जिरो टु हिरो’ अन्तर्गत चार आइडिया छनोट

विराटनगर । मोरङ उद्योग व्यापार संघको आयोजनामा सञ्चालन भइरहेको विराट एक्स्पोको सन्दर्भमा आयोजित थिमेटिक सेसनमा प्रस्तुत गरिएका आइडियामध्ये चार उत्कृष्ट आइडिया छनोट भएका छन् ।

संघले सञ्चालन गरेको बुट क्याम्पबाट छनोट भएका अन्तिम १५ मध्ये १३ आइडियाबाट निर्णायक समितिले चारवटालाई उत्कृष्ट ठहर गरेको हो । छनोटमा परेका उनीहरूले अब आइडिया स्टुडियो सिजन–९ मा सिधा प्रवेश पाएका छन् ।

संघले आह्वान गरेपछि कोशी प्रदेशका विभिन्न १० जिल्लाबाट ५२ आइडिया दर्ता भएका थिए । तीमध्ये क्याम्पमा सहभागी गराई अन्तिम १५ आइडिया छनोट गरिएको संघले जनाएको छ ।

विराट एक्स्पो स्थलमा दैनिक रूपमा आयोजना भइरहेको थिमेटिक सेसनका क्रममा आइडिया पिच गरेका विष्णु पोखरेल, जीवन कुशवाहा, भिजन प्रताप खत्री र आयुष आचार्यका आइडियाहरू उत्कृष्ट ठहरिएका हुन् ।

उनीहरूको आइडियालाई उद्यमशीलता विकाससँगै व्यवसायमा रूपान्तरण गर्न संघले समन्वयकारी भूमिका निर्वाह गर्ने संघका अध्यक्ष अनुपम राठीले बताएका छन् ।

Share News