काठमाडौं । तलब तथा सुविधाको विषयलाई लिएर कर्मचारीहरूले काम रोक्दा बुधबार बिहानदेखि प्रभावित भएको साझा यातायातको बस सेवा पुनः सुचारु भएको छ ।
कर्मचारीहरूसँगको छलफलपछि सहमति जुटेको र सबै रुटमा गाडी चल्न थालेको साझा यातायातका प्रमुख कार्यकारी अधिकृत (सीईओ) भूपेन्द्र अर्यालले जानकारी दिए ।
उनका अनुसार यो कुनै आन्दोलन नभई कर्मचारीहरूको तलब-सुविधा सम्बन्धी केही अस्पष्टता हटाउन गरिएको आन्तरिक छलफल थियो । ‘यो आन्दोलन होइन, हाम्रा कर्मचारीहरूको तलब-सुविधा र नियमसम्मतका केही विषयमा जिज्ञासा थिए, त्यसैलाई स्पष्ट पार्न हामीले छलफल गरेका हौं’, अर्यालले विकासन्युजसँग भने ।
साझाले अधिकांश कर्मचारी आउटसोर्सिङ मार्फत लिएको र उनीहरूले आफूले पाउनुपर्ने सुविधाबारे केही भ्रम र जिज्ञासा राखेका थिए ।
सीईओ अर्यालले भने, ‘आउटसोर्सिङमार्फत आउनुभएका कर्मचारीहरूलाई हामीले पठाएको तलब र सुविधा सही तरिकाले पुगेको छ कि छैन भन्नेमा केही अस्पष्टता रहेछ। हामीले त्यसलाई क्लियर गर्ने प्रयास गर्यौं । ’
कर्मचारीहरूका माग श्रम ऐन अनुसार नै सम्बोधन गरिनेमा सहमति भएको छ । ‘श्रम ऐनले दिएको सुविधा दिन हामी तयार छौं, तर ऐनभन्दा बाहिर गएर सुविधा दिन मिल्दैन,’ अर्यालले भने, ‘अहिलेको सम्झौता चैतसम्म भएकाले त्यसलाई तोड्न मिल्दैन। चैतपछि फेरि बसेर सबैको हित हुने गरी नयाँ निर्णय लिइने मौखिक सहमति भएको छ । ’
कर्मचारीहरूले साझाले नै सिधै रोजगारी दिनुपर्ने माग राखेको विषयमा पनि आगामी दिनहरूमा छलफल गर्न सकिने उनले बताए ।
‘यो ठूलो मुद्दा नभई सामान्य आन्तरिक छलफल हो, जुन हरेक कार्यालयमा हुन्छ,’ अर्यालले थपे, ‘केही तत्वहरूले उक्साउन खोजे पनि हामीले छलफलबाटै समस्या समाधान गरेका छौं । अब सबै समस्या हल भइसकेको छ र सेवा पूर्ण रूपमा सञ्चालनमा छ ।’
बिहान करिब ७ बजेदेखि कर्मचारीहरूले बस चलाउन रोकेका थिए । जसका कारण उपत्यकाका यात्रुहरूले सास्ती खेप्नुपरेको थियो । छलफलमा सहमति जुटेसँगै अहिले सबै रुटमा साझाका बसहरू गुड्न थालेका छन् ।